धरान: ईटहरी ९ स्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले प्रि-डिप्लोमा तहको २४ महिने होटल म्यानेजमेन्टको औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) कार्यक्रम निःशुल्क सञ्चालन गर्ने भएको छ ।

शिक्षालयले आइतबार धरानमा पत्रकार सम्मेलन गर्दै ४० जनाको कोटा भएको उक्त तालिमको लागि असोज १२ गतेसम्म मात्र फारम भर्ने समय रहेको जनाएको छ । एसईई वा सो सरहको परीक्षा उर्तीण गरेका विद्यार्थीहरुले फराम भर्न सक्ने व्यवस्थापन समितिका अध्यक्ष निर्मल बरालले जानकारी दिए । उनका अनुसार प्रशिक्षार्थीहरुले निःशुल्क अध्ययनको अवसर पाउनेछन् भने हाजिरी भएर कक्षा लिएको दिन एक सय रुपैया खाजा तथा यातायात खर्च पनि पाउनेछन् । यस्तै, शिक्षालयले नै निःशुल्क युनिफर्म वा सो वापतको रकम पनि उपलब्ध गराउनेछ ।

उक्त शिक्षालयमा सामाजिक विकास मन्त्रालयको सहयोग र सिटिइभिटीको समन्वयमा गत बर्षदेखि यो कार्यक्रम शुरु भएको हो । २४ महिने कोर्षमा साढे ३ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ भने साढे १९ महिना उद्योग, व्यवसायमा व्यवहारिक सीप र कार्यस्थलको अनुभव प्रशिक्षार्थीहरुलाई दिइने पनि अध्यक्ष वरालले बताए । अहिले पनि गत बर्षको पहिलो ब्याचका प्रशिक्षार्थीहरु धरान, इटहरी, विराटनगर र भेडेटारका राम्रो होटलहरुमा इन्र्टनसिपअन्तर्गत कार्यस्थलको अनुभव लिइरहेको उनले बताए ।

यो प्रि डिप्लोमा लेवलको तालिम सकेपछि सिटिइभिटीबाटै प्रमाणपत्र दिइने र दक्ष जनशक्तिकोरुपमा गनिने भएकोले रोजगारीको अवसर पनि प्राप्त हुनेछ । थप ३ बर्षको डिप्लोमा अध्ययन गर्न चाहनेले शिक्षालयमा नै न्युनतम शुल्कमा अध्ययन गर्न सक्ने पनि उनले बताए । ‘गैरनाफामुलक शिक्षालय भएकोले राज्यले हाम्रो शिक्षालयमा यो कार्यक्रम चलाएको हो । हामीजस्तै अन्य शिक्षालयमा विभिन्न तालिमहरु सञ्चालन गरेको छ,’ वरालले भने,‘युवाहरुलाई दिगो र सम्मानित रोजगारी दिने उद्देश्यले यो कार्यक्रम ल्याएको हो ।’

भिडियो: