धरान: प्याब्सन एन्फा प्रेसिडेन्ट कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल लिग प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल बराहक्षेत्र विजेता भएको छ ।

प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १–० गोलले हराउदै कुल ९ अंकका साथ विजेता भएको हो । फाइनल चरणको खेलहरु लिगको आधारमा धरान १७ स्थित एन्फा टेक्निल सेन्टरको मैदानमा भएको थियो । फाइनल चरणका तीन खेलमा सिद्धार्थले जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा रहेर विजेता भएको हो । सिद्धार्थले विजेता ट्रफीका साथै नगद २० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै, फाइनल चरणमा ३ अंकका साथ महेन्द्र मेमोरियल बोर्डिङ स्कुल दुहबी प्रतियोगितामा दोस्रो भयो । प्रतियोगितामा इटहरीस्थित हिमशिखर बोर्डिङ स्कुल रध धरानको होलिल्याण्डले पनि एक जितसहित ३ अंक बटुलेको थियो । तर, गोलअन्तरमा महेन्द्रले बाजी मारेपछि हिमशिखर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो भने होलिल्याण्ड चौथो भयो । दोस्रो भएको महेन्द्र मेमोरियलले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने तेस्रो भएको हिमशिखरले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । यसैगरि, चौथो भएको धरानको होलिल्याण्ड बोर्डिङ स्कुलले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र हात पार्यो । 

pabson anfa cup

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिद्धार्थका सरुण चौधरी घोषित हुदै नगद ५ हजार र ट्रफी पुरस्कार पाए भने फाइनल खेलको म्यान अफ दि म्याच सिद्धार्थकै सुरज सुवेदी घोषित भए । यस्तै, बेष्ट गोलकिपर सिद्धार्थका सन्देश चौधरी, बेष्ट डिफेन्डर हिमशिखरका नेल्सन गुरुङ, बेष्ट मिडफिल्डर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल, बेष्ट स्ट्राइकर सिद्धार्थका सुशान्त चौधरी, बेष्ट कोच सिद्धार्थका अजित अधिकारी घोषित हुदै जनही नगद २ हजार र ट्रफी पुरस्कार पाए । प्रतियोगिताको फाइनल चरणमा सर्वाधिक ३ गोल गरेका महेन्द्र मोरङका आशिष भगतले नगद ३ हजार र ट्रफी पुरस्कार पाए । 

pabson anfa cup2

खेलाडीहरुलाई आयोजक एन्फा सुनसरीका अध्यक्ष नविन राई, प्रमुख अतिथि एवं प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल, प्याब्सनका सल्लाहकार डा.वेणुप्रसाद सिटौला, प्याब्सनका कोषाध्यक्ष दिपक कार्की, इन्दिरा कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा पुर्वखेलाडी धरान १८ निवासी गोविन्द राईलाई खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । 

pabson anfa cup3

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा आयोजित प्रतियोगितामा जिल्लाभरिका ब्याब्सनमा आवद्ध ३२ वटा स्कुलहरुले सहभागिता जनाएको थियो । पहिलो चरणका खेलहरु इटहरी र बराहक्षेत्रमा नकआउट आधारमा खेलाइएको थियो । ती दुई क्षेत्रबाट २/२ वटा टिमलाई धरानमा फाइनल चरणको खेल लिगको आधारमा खेलाइएको थियो । 

भिडियो: