धरान: धरानको कार्यपालिका बैठकले राती ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न अनुमतिको लागि जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेको छ, तर सुरक्षा समितिले भने त्यसविपरीत राती ९ बजेसम्म मात्र होटल सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

सुरक्षा समितिको यो निर्णयले आफुहरु मारमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघले बुधबार धरानमा आयोजना गरेको स्वागत, छलफल तथा शुभकामना आदनप्रदान कार्यक्रममा व्यवसायीहरुले यस्तो गुनासो पोखेका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डे, सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीको उपस्थितिमा आयोजित कार्यक्रममा व्यवसायीहरुले ९ बजे नै होटलहरु प्रहरीले बन्द गराएर व्यवसाय चौपट बनाएको बताए । 

संघका अध्यक्ष विजय श्रेष्ठले पर्यटन विकासको ठुल ठुलो कुरा गरेपनि सुरक्षाको कारण देखाउदै राती ९ बजे नै प्रहरीले होटल बन्द गराउनु दुःखद भएको बताए । उनले अन्य मुलुकमा रातभरि पनि होटल चलेको उदाहरण दिदै धरानमा ११, १२ बजेसम्म किन चलाउन नसक्ने ? भन्दै प्रश्न पनि गरे । ‘हामी पर्यटक भित्र्याउने कुरा गछौं, तर पर्यटक आएर रमाउने ठाउँलाई किन ११ बजेसम्म खोल्ने वातावरण बनाउन सक्दैनौं ?’उनले भने । मन्दीको कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष श्रेष्ठले दशैं तिहार पछि धेरै व्यवसायीहरु पलायन हुने स्थिति बनेको पनि बताए । उनले दशैंको बेला मात्र अनुगमन गरेर व्यवसायीलाई दुःख दिने काम सबै निकायले बन्द गर्नुपर्ने पनि बताए ।

संघका पुर्वअध्यक्ष एवं यातायात व्यवसायी सरोज श्रेष्ठले पनि दशैं आइसक्दा व्यापार, व्यवसायमा उत्साह नभएको बेला होटल व्यवसायीलाई ९ बजे नै बन्द गराउदा थप मारमा परेको बताए । उनले विगतमा आचारसंहिता बनाएर होटल चलाएको प्रसंग उठाउदै अहिले पनि राती ११, १२ बजेसम्म आचारसंहिता बनाएर होटल चलाउने वातावरण बनाउन आग्रह गरे । ‘संहिता पालना गर्न व्यवसायीहरु लाग्नुपर्छ । होटलले मात्र सुरक्षा थ्रेट हुन्छ भन्ने लाग्दैन । सरकारले उठाउने राजश्वयको ८० प्रतिशत निजी क्षेत्रको लगानीबाट उठ्छ भन्ने हेक्का राख्नुपर्छ,’उनले भने ।

hotel1

स्थानीय सरकारका प्रमुखलाई व्यवसायीहरुको समस्या सुन्ने समय नभएको भन्दै उनले आलोचना पनि गरे । अनुगमनको नाममा व्यवसायीलाई दुःख दिने काम रोक्नुपर्ने उनले बताए । साथै, अनुशासनको पालनाको कुरा गर्ने स्थानीय सरकार आफैले भने कानुन विपरीत राष्ट्रिय राजमार्गमा पैसा उठाउन ठेक्का लगाइरहेको भन्दै प्रशासनको ध्यानाकार्षण पनि गराए । ‘अरुलाई अनुशासनको कुरा सिकाउने स्थानीय सरकार आपैmले चै पालना गर्ने कि नगर्ने ? राष्ट्रिय राजमार्गमा पैसा उठाउन पाइदैन तर तीनकुनेमा गाडी रोकेर गुण्डागर्दी शैलीमा उठाइरहेको छ । राजमार्गमा ठेक्का नलगाइदिन माग गर्यौं, तर फेरि ठेक्का लाग्यो,’ उनले भने ।

संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाले व्यापार व्यवसाय नलेको अवस्थामा एउटा सानो गल्तीमा पनि आन्तरिक राजश्व कार्यालयले २०, ३० हजार जरिवाना तिराइरहेको भन्दै आक्रोश पोखे । केन्द्रले राजश्व उठाउने तार्गेट दिएको भन्दै आन्तरिक राजश्वले व्यापारी, व्यवसायीलाई दुःख दिइरहेको भन्दै यो कार्य तत्काल रोकिनुपर्ने पनि उनले बताए । यस्तै, सशस्त्रको धरान १३ को बेसक्याम्पमा रहेको चेकपोष्टबाट व्यावसायीहरुलाई दुःख दिने काम भइरहेकोले रोक्न उनले माग गरे । साथै, बजार अनुगमनको नाममा उद्योगी, व्यवसायीहरुलाई त्रसित बनाइरहेको र बेइज्जत गरिरहेकोले उक्त कार्य पनि स्थानीय सरकारले नगर्न उनले आग्रह गरे ।

होटल व्यवसायी गोपाल राईले कोरानो, आर्थिक मन्दी, डेंगुलगायतले थला परेको व्यापार, व्यवसाय उठ्ने प्रयासमा रहदा ९ बजे नै बन्द गर्नुपर्दा थप मारमा परेको बताए । धरानको निशाने, बगरकोट क्षेत्रमा राती नै ग्राहक, पर्यटकहरु आउने गरेको तर ९ बजे नै बन्द गर्नुपर्दा व्यवसाय नै छोड्नुपर्ने स्थिति बनेको उनले बताए । ‘नगरपालिकाले राती ११ बजेसम्म होटल खोल्न पाउने सिफारिश गरेको छ तर प्रहरीले राती ९ बजे नै बन्द गराउछ । राज्यलाई कर तिरेपछि व्यापार गर भनेर संरक्षण गर्नुपर्ने होइन र ?’उनले भने । 

अर्का होटल सञ्चालक हरि श्रेष्ठले पनि रातीको बेला नै होटल चल्ने समय भएको तर प्रहरीले ९ बजे नै बन्द गराउनु उचित नभएको बताए । होटल, रेष्टुरेष्टले खाना बेच्दा कसरी शान्तिसुरक्षा भंग हुन्छ ? भन्दै उनले प्रश्न पनि गरे । ‘कर चै सबैले असुल्ने तर राती ९ बजे नै होटल बन्द गराउदै प्रहरी सिट्टी फुक्दै आउछ । यो निर्णय कुनै हालतमा स्वीकार गरिदैन,’उनले भने ।

अपराध नियन्त्रण र शान्ति सुरक्षाको लागि निर्णय गरिएको हो: प्रजिअ

cdo

सुनसरीका प्रजिअ हुमकला पाण्डेले अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्न प्रहरी प्रशासन केन्द्रीत रहेको बताइन् । प्रहरी र प्रशासनले व्यापारी, व्यवसायीहरुलाई दुःख दिने नियत नभएको उनको जिकिर थियो । 

प्रहरी र नागरिक सँगसँगै हिड्नुपर्ने तर कानुन विपरीत कसैले पनि हिड्न नहुने उनले बताइन् । ‘सिमानाकाबाट अवैध घुसपैठ हुनुसक्ने, अवैध सामान ओसारपसार हुनसक्ने, मापसे र लापसे गरेर अपराधको घटना हुनसक्ने भएकोले ८ बजेपछि होटलहरु खोल्न नदिने निर्णय गरेको हो । दशैं, तिहार र छठ पूजासम्मलाई निर्णय हो,’ उनले भनिन्, ‘अरु ठाउँको, राजमार्गका होटलहरुमा लागुऔषध कारोबार, छुरी हानेको घटना देखिन्छ, विभिन्न घटनाहरु भएको देखिएकोले ९ बजेपछि दशैं, तिहार, छठ पर्वसम्म बन्द गर्ने निर्णय गरेको हो । छठ पछि व्यवसायीहरुले भनेअनुसार नै नियमितरुपमा नै हुन्छ ।’ 

प्रजिअ पाण्डेले रातभरि गर्न पाउनुपर्छ भन्दैमा नहुने पनि बताइन् । उनले सुरक्षा निकायले निगरानी गरिरहेको र गतल क्रियाकलाप गर्नेलाई कानुनी कारबाही हुने पनि बताइन् । रात्रीकालिन व्यापार गर्न चाहनेले कार्यविधि वमोजिमको मापदण्ड पुरा गरेर आएमा जिल्ला सुरक्षा समितिले स्वीकृति दिने पनि प्रजिअ पाण्डेले बताइन् । ‘रात्रीकालिन व्यापार, व्यवसाय गर्न चाहने हो भने कार्यविधि छ, त्यो मापदण्ड पुरा गरेर आउनुस्, जिल्ला सुरक्षा समितिले अनुमति दिनछ, सर्त पालना गरेर पाउनुहुन्छ,’ उनले भनिन्,‘पर्यटकीय क्षेत्रको लागि तपाईहरु कार्ययोजना बनाएर ल्याउनुस्,सहयोग गछौं ।’

भिडियो: