धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीयस्थल चिण्डे डाँडामा सुम्निमा पारुहाङको मुर्ति बनाउन अध्ययन गरिने भएको छ ।

सोमबार बसेको कार्यपालिका बैठकमा सँस्कृति, प्रकृति र धर्मलाई पर्यटनसँग जोड्न किरात सभ्यताको धरोहर सृष्टिकर्ता आदिम पुर्खा सुम्निमा पारुहाङको प्रतिमा धरान २० चिण्डेडाँडामा निर्माण गर्ने प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै बैठकले सम्भाव्यता अध्ययन समिति गठन गर्ने निर्णय भएको थियो । बैठकले वडा नं ४, ५, १४ र २० का वडाअध्यक्ष, कार्यपालिका सदस्य विकास भाटी र सावित्रा परियार रहेको अध्ययन समिति गठन गरेको छ । उक्त समितिले चिण्डे डाँडामा मुर्ति बनाउन सम्भाव्यता अध्ययन तथा आवश्यक समन्वय गर्नेछ ।

यस्तै, बैठकले धरानको रात्रीकालिन बजार (होटल तथा रेष्टुराहरु) रातको ११ बजेसम्म सञ्चालन अनुमतिको लागि जिल्ला सुरक्षा समन्वय समिति सुनसरीमा सिफारिश गर्ने पनि निर्णय भएको छ । बैठकको एजेण्डामा धरान १५ बगरकोट क्षेत्रमा सञ्चालित होटलहरुको लागि मात्र समय तोक्ने उल्लेख भएको थियो । तर, वडाअध्यक्षहरुले सबै वडाको लागि उक्त समय सिमा तोक्नुपर्ने धारणा राखेपछि बैठकले धरानभरिकै लागि ११ बजेसम्म होटल, रेष्टुराहरु सञ्चालन गर्न दिन सिफारिश गर्ने निर्णय गरेको हो ।

भिडियो:

यसैगरि, गुठीको जग्गामा लिइदै आएको दोहोरो कर हटाउने सम्बन्धमा कार्यपालिका बैठकले बहुमतले पारित गरेपनि मेयर हर्क साम्पाङले बजेटमा पर्नसक्ने असरलाई हेरेर मात्र निर्णय लिइनुपर्ने भन्दै थाती राखे । गुठीको जग्गा भएकोले उसले आफ्नो अधिकार नछोड्ने र धरानको पनि बजेटमा के कति असर पर्छ, त्यसबारेमा राजश्व परामर्श समितिमा परामर्श लिएर मात्र निर्णय लिने मेयर साम्पाङले बताए । 

यसैगरि, धरान ११ स्थित मंगलबारे चोकमा प्रहरी चौकी स्थापना गर्न सम्बन्धित निकायमा सिफारिश गर्ने पनि बैठकले निर्णय गरेको छ भने वडा नं १७ मा दलित सेवा संघको भवन निर्माण गर्न जग्गा यकिन गरि उपलब्ध गराउने पनि निर्णय गरेको छ । सबै एजेण्डामा छलफल गर्न समय पर्याप्त नभएको कारण वडाअध्यक्षहरुको आग्रह अनुसार बुधबार बैठक बस्ने गरि मेयर साम्पाङले स्थगित भएको घोषणा गरेका थिए ।

भिडियो:


भिडियो: