धरान: १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मंसिर १५ गतेदेखि सञ्चालन हुने भएको छ ।

आयोजक डिपो मावि धरान १८ ले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । विद्यालयका प्राचार्य राजकुमार राईले प्रतियोगितामा १६ वटा टिम सहभागी हुने र पहिलो चरणमा पराजित टिमहरुबीच पुनः दिलकुमार प्लेट च्याम्पियन कप आयोजना हुने जानकारी दिए । प्रतियोगितामा कक्षा ५ सम्मका र १२ बर्षमुनिका विद्यार्थीहरु मात्र सहभागी हुन पाउनेछन् । 

ललित अम्बर डिपो कपको विजेताले नगद ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टिमले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणप पाउनेछ । यसैगरि, प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरु धेरै भएपनि टिम दर्ता गर्न आउने पहिलो १६ वटा मात्र अवसर पाउने पनि विद्यालयले जनाएको छ । गत सँस्करणमा ललित अम्बर डिपो कपमा धरान १३ को नेपाल प्रहरी स्कुल च्याम्पियन भएको थियो भने इष्टर्न एजुकेस्नल एकेडेमी धरान १७ उपविजेता र धरान लिगामेन्ट स्कुल धरान १६ तेस्रो भएको थियो । यस्तै, धरान १७ को एक्वा डायनेष्टी स्कुल प्लेट च्याम्पियन भएको थियो भने बराह राईजिङ स्टार स्कुल बराहक्षेत्र उपविजेता भएको थियो । 

भिडियो: