धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना हुने भएको छ । 

युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ हुन लागेको यो खेललाई नेपालीमा 'पानी सुल्के' पनि भनिन्छ । तिहारको गोबर्धन पुजाको दिन बिहान ११ बजे खेलको सुरुवात हुने आयोजक चतरा हाइकिङ समुहले जनाएको छ । समुहका संस्थापक एवं सञ्चारकर्मी भिषण राईले खेलमा सबैले सहभागिता जनाउन सक्नेछन् भने सहभागी हुनलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ। 

यो खेल नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा हुनेछ । सामान्यतया यो खेल नदी, तलाउ, पोखरी र नहरमा ढुंगा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुंगालाई पानीको सतहमा हुईकियाएर यो खेल खेलिन्छ। पहिलो पटक यो प्रतियोगिता आयोजना हुन लागेको हो । यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल, बिच र जाम पानीमा प्रत्येक बर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । 

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेईनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । उस्लाई माउन्टेन म्यान उपनामले पनि चिन्ने गरिन्छ। यो खेल महिलातर्फ र पुरुष तर्फ गरेर खेलाईनेछ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो गरि क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रायोजक एवं दाता भेटिएमा पुरस्कार राशी बढ्न पनि सक्ने आयोजक सदस्य युवराज भट्टराईले जानकारी दिए ।