धरान: भाडाको घरमा कार्यालय राखेर सञ्चालन भइरहेको धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको लागि जग्गा प्राप्तीको पहल गर्न जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पत्राचार गरेको छ । 

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकमा जिल्ला ट्राफिकको कार्यालय भवन निर्माणबारे छलफल भएको थियो । उक्त बैठकको निर्णय पश्चात प्रजिअ हुमकला पाण्डेले गृहमन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखा सिंहदरबारमा पत्राचार गरेकी हुन् । 

ट्राफिकको भवन निर्माणको लागि धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहले २०७९ साउन ३१ गते नै लिखित सहमति प्रदान गरिसकेकोले थप आवश्यक प्रक्रियाको लागि गृहमन्त्रालयमा लेखि पठाउने निर्णय भएकोले सोही अनुसार पत्राचार गरिएको उल्लेख छ । धरानमा २०४१ सालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना भएको थियो । स्थापनाकालदेखि नै भाडाको घरमा रहेर सञ्चालन हुदै आएको ट्राफिक कार्यालय पटक पटक विभिन्न ठाउँमा स्थानान्तरण हुनुपरेको छ । आफ्नो भवनकै अभावले अनेक समस्या झेलिरहेको जिल्ला ट्राफिक धरानबाट अन्यत्र सर्ने चर्चा पनि चलेको छ । 

cdo letter