धरान: गए राती धनकुटाको साँगुरीगढी ६ स्थित कोलबोटेमा ३ वटा ट्रिपर दुर्घटना हुँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । 

भेडेटारदेखि करिब ६ किलोमिटर उत्तरपश्चिमस्थित कोलबोटेमा राती करिब ७ बजे ट्रिपर दुर्घटना भएको हो । तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको र सडक अवरुद्ध भएको भेडेटारका ट्राफिक इञ्चार्ज राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगरबाट २ वटा क्रेन ल्याएर सडक खुलाउने प्रयास भइरहेको छ । 

अगाडी गुडिरहेको ट्रिपरलाई पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको ट्राफिक प्रहरीको भनाई छ । तीन वटै ट्रिपर एकआपसमा च्यापिएर सडक ढाकेको हुनाले सडक अवरुद्ध भएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । ट्राफिक इञ्चार्ज श्रेष्ठले भने, ३ वटा ट्रिपर दुर्घटना भएर सडक अवरुद्ध छ । क्रेन ल्याएर खुलाउने प्रयास भइरहेको छ ।