मोरङ: भ्रष्टचार मुद्दामा बिशेष अदालतबाट सजाय तोके पनि फरार रहेका ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत मोरङको बिभिन्न स्थानबाट भ्रष्टचार मुद्दामा फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्दामा विशेष अदालत काठमाण्डौबाट २०७९ चैत ८ गतेको फैसला आदेश वमोजिम फरार ५ जनालाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका ३ का मणिराज दाहाल छन् । उनलाई बिशेष अदालतले ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैया जरिवाना हुने फैसला गरेको छ । यस्तै, ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैया जरिवाना तोकिएका कुमार बहादुर कटुवाल, ९ बर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैया जरिवाना तोकिएका टिकाराम अधिकारी पनि पक्राउ परेका छन् । 

यसैगरि, ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैया जरिवाना तोकिई फरार रहेका देवराज नेपाल र ८ बर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैया जरिवाना तोकिएका बिराटनगर ४ का नयराज नेपाललाई पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई मोरङ जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको प्रहरीले जनाएको छ ।