धरान : आगामी फागुन १९ गते खुल्ला धरान नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

धरान १ स्थित भिजन फिटनेसको आयोजनामा धरान ८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको हो । भिजन फिटनेसले मंगलबार बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गर्दै फागुन १८ मा प्री-जजिङ र दोस्रो दिन फाइनल चरणका खेलहरु हुने जानकारी दिएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा प्रतिस्पर्धा हुने भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले जानकारी दिए ।

भिजनले पहिलो पटक २०६८ मा मिस्टर धरान आयोजना गरेको थियो । त्यसपछि भने निरन्तर आफ्नै फिटनेसभित्रका खेलाडीहरुबिच मात्रै मिस्टर धरान आयोजना गर्दै आएको थियो । यसपालीदेखी भने धरान नगर स्तरीय प्रतियोगिताकोरुपमा आयोजना हुने र धरानका फिटनेस एवम् जिमहलबाट खेलाडी सहभागी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार यो प्रतियोगितामा विगतमा कुनै प्रतियोगितामा टाइटल जितेका खेलाडीले भने भाग लिन पाउने छैन । त्यसैले जुनियर मिस्टर भिजन प्रतियोगिता नाम राखीएको उनले बताए ।  नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागी यस्तो नियम राखीएको उनले बताए ।  धरानमा एक दर्जन जिम हलहरु भएको र ३० जना खेलाडी सहभागी हुने अपेक्षा राखीएको अध्यक्ष श्रेष्ठले बताए । 

ओभरअल राउन्डको विजेताले नगद ५० हजार, दोस्रो हुने खेलाडीले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुने खेलाडीले नगद १० हजार पुरस्कर पाउनेछ । यस्तै, बेस्ट इम्प्रुभमेन्ट, बेस्ट पोजर, बेस्ट मस्कुलर र बेस्त टिमले नगद ५ हजार सहित व्यक्तिगत पुरस्कर पाउनेछन् ।

भिडियो: