धरान: धरान ८ स्थित सहिद स्मृति माविमा उपमेयर अइन्द्रबिक्रम बेघा नेतृत्वमा भएको अनुगमन पछि शिक्षकका पेसागत संघसंस्था र विद्यालयका प्रध्यानाध्यापकले निकालेको विज्ञप्तीप्रति उपप्रमुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

उपप्रमुख बेघाको नेतृत्वमा स्कुलमा अनुगमन गर्दा स्थानान्तरण प्रमाणपत्र र दिवा खाजामा अतिरिक्त रकम लिएको पाएपछि नलिन निर्देशन दिइएको थियो । सञ्चारकर्मीसहित भएको अनुगमनको भिडियो र समाचार प्रकाशन, प्रसारण भएपछि विभिन्न शिक्षक संगठन, विद्यालयले विज्ञप्ती जारी गर्दै विरोध जनाएको थियो ।

उपप्रमुखका सचिवलायले विज्ञप्ती जारी गर्दै नेपालको संविधान २०७२ को अनुसुची ८ मा आधारभुत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा रहेको साथै स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ज) मा समेत आधारभुत तथा माध्यमिक शिक्षाको अनुगमन, मुल्यांकन र नियमन गर्ने अधिकार दिइएको पनि उल्लेख छ । 

विद्यालयहरुले उपमहानगरपालिकाको नगर शिक्षा समिति, शिक्षा तथा खेलकुद महाशाखालगायत निकायबाट दिइएको निर्देशन पालना गर्नु कर्तव्य रहेको भन्दै विज्ञप्तीमा शिक्षा समितिले दिएको निर्देशन विपरीत सहिद स्कुलले स्थानान्तण प्रमाणपत्र र दिवा खाजा वापतको थप रकम अभिभावकहरुबाट लिएको पाइएकोपछि कुनै रकम नलिन निर्देशन दिइएको उल्लेख छ ।

नेपालको संविधान र प्रचलित कानुनको परिधिभित्र रहेर विद्यालयको अनुगमन भएकोले सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट नकरात्मक टिप्पणी नगर्न र शिक्षकका पेसागत संघसंस्थाहरुले समेत पेसागत मर्यादालाई ख्याल गर्न साथै विद्यालयका प्रअले कानुनसम्मत भएको अनुगमनलाई विज्ञप्ती जारी गर्नु पदीय आचरण विपरीत भएको भन्दै नगर्न सचेत पनि गराइएको छ । 

sikxa1