धरान: बुबाको पदचाप पछ्याउदै धरान १९ का सविन सापकोटा नेपालका व्यवसायिक गल्फ खेलाडी मात्र बनेनन्, अहिले जर्मनीमा गल्फ प्रशिक्षक छन् । गल्फ खेलबाट नै उनको परिचय बन्यो । 
डिसेम्बर अन्तिम साता बर्षेनी सुर्य नेपाल गल्फ टुर अन्तर्गत इष्टर्न ओपन गल्फ प्रतियोगिता आयोजना हुन्छ । यो बेला उनी उक्त प्रतियोगितामा सहभागी हुन गृहनगर धरानमा आएका हुन्छन् । अहिले पनि उनी नेपाल आएको तीन साता भयो । तर, उनको उद्देश्य इष्टर्न ओपनमा सहभागी हुने मात्र छैन, नयाँ गल्फ खेलाडी उत्पादन गर्ने ध्येय पनि उनको छ । 
धरान आएको समय पारेर उनले विगत ८ बर्षदेखि सविन डे कप आयोजना गर्दै आएका छन् । यो सिनियर गल्फ खेलाडीहरुको लागि हो । यो बर्षदेखि नै उनले भर्खर गल्फ सिक्दै गरेका बालबालिकाहरुलाई पनि खेल्नको लागि थप हौसला प्रदान गर्न जनियर सविन कप शुरु गरेका छन् । आज (शनिबार) धरान गल्फ कोर्षमा आयोजित प्रथम जुनियर सविन कपमा १६ जना बालबालिकाहरु सहभागी भएका थिए।

प्रतियोगिताको खर्च उनी आफैले व्यहोरेका छन् । केही पुरस्कार जर्मनीको क्लब र उनी कार्यरत गल्फ कोर्षबाट स्पोन्सर गराएका छन् । धरान गल्फ क्लबले प्रत्येक साता बालबालिकाहरुलाई गल्फ प्रशिक्षण गराएको थियो । तिनै बालबालिकाहरुलाई खेलमा प्रेरणा दिन जुनियर सविन कप शुरुवात गरेको सापकोटाले बताए । ‘यहाँ खेलाडी उत्पादन गर्न हप्ताको एक चोटी शनिबार प्रशिक्षण भएको रहेछ । उनीहरुले खेललाई निरन्तरता दियोस्, र खेल्न उत्प्रेरणा मिलोस् भनेर जुनियर सविन कप शुरु गरेको छुँ,’उनले भने,‘म प्रत्येक बर्ष आयोजना गर्छु ।’
उनी कार्यरत जर्मनीको गल्फ कोर्षमा पनि सविन कप सिरिज आयोजना गर्छन् । सन् २०१९ देखि जुनियरहरुको लागि बर्षको ३ वटा सविन कप सिरिज प्रतियोगिता जर्मनीमा गराउदै आएको सापकोटाले बताए । ‘गल्फको धेरै सम्भावना छ, तर निस्वार्थरुपमा लागेर निरन्तरता लिनुपर्छ,’उनले भने,‘हाम्रो शुक्रबहादुर भाई नेपालकै नम्वर वान भएका छन्, अहिले भारतीय गल्फ टुरमा टप ६० मा परे, हाम्रो लागि गर्वको कुरा हो । यो प्रतियोगिता शुक्र जस्तै अर्को खेलाडी जन्माउने लक्ष्य पनि हो ।’

आफ्नो बाल्यकालको स्मरण गर्दै सविनले आफु ८, ९ बर्षको हुँदादेखि नै गल्फ कोर्षमा पाइला टेकेको बताए । त्यो बेला बर्षमा एक पटक च्याम्पियनसिप हुनेगथ्र्यो । तर, उनी १४, १५ बर्षको हुँदा भने ब्रिटिश क्याम्प उठेर पोखरा गएपछि गल्फ गतिविधि शुन्य भयो, र अहिलेको जस्तो जुनियर खेलाडीहरु पनि थिएनन् । ‘तर मेरो बुबा नै गल्फ खेलाडी हुनुभएकोले मैले निरन्तरता दिए,’उनले स्मरण गरे,‘मेरो पालामा हिजोआजको जस्तो अवसर थिएन ।’ उनले आफु पनि अझै सिकिरहेकोले गल्फ खेलमा निरन्तरता दिनसके मात्र सफलता हात पर्ने पनि बताए । ‘गल्फ भनेको यस्तो खेल हो, जसले पनि जतिबेला पनि खेल्न सक्छ । जसले यो खेलमा समय दिनसक्यो, निरन्तरता दिन सक्यो, उसले प्रगति गर्न सक्छ । सम्भावना पनि धेरै छ,’ उनले भने ।
यो बर्ष सविन प्रो टर्न अर्थात व्यवसायिक खेलाडी भएको २५ बर्ष पुगेको छ । त्यसैले उनले बर्षेनी आयोजना गर्दै आएको सविन डे कपलाई यसपाली सिल्भर जुब्ली कपकोरुपमा आयोजना गर्दैछन् । ‘प्रो टर्न भएको २५ बर्ष पुगे । म सन् १९९८ मा भारतीय टुरमा गएर व्यावसायिक गल्फ खेलाडी भएको थिएँ,’ उनले भने,‘त्यही अवसरमा यसपाली सविन डे कप सिल्भर जुब्ली गर्दैछुँ ।’
दिपेश नेट विजेता, सिद्धान्त ग्रस विजेता

प्रथम जनियर सविन कप २०२३ मा दिपेश श्रेष्ठ विजेता भएका छन् । उनले नेट २० स्कोर गर्दै प्रतियोगितामा विजेता भएन । उनी २४ ह्याण्डीक्याप खेलाडी हुन् । यस्तै, आयुष बास्फोरले १९ स्कोर गर्दै फष्ट रनरअप भए भने १७ स्कोर खेलेका थम्सोहाङ लिम्बु सेकेण्ड रनरअप भए ।
प्रतियोगिताको ग्रस विजेता सिद्धान्त सापकोटा घोषित भए । लेडिज विजेता सिमिहाङ्मा घोषित भइन् । स्टेवल फोर्ड आधारमा खेलाइएको प्रतियोगितामा १६ जना जुनियर खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिताको विजेता खेलाडीहरुलाई सविन सापकोटा कार्यरत गल्फ कोर्षले एक बर्षको जुनियर सदस्यता दिने पनि जानकारी दिएका थिए । अब विजेताहरुको शुल्क सापकोटा कार्यरत गल्फ कोर्षले तिरिदिनेछ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



