धरान: फागुन २६ गतेदेखि शुरु हुने २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारीमा धरान फुटबल क्लब जुटेको छ । 

प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । गोल्डकप आयोजनाको तयारी स्वरुप आयोजक क्लबसँगै फुटबल सम्बद्ध संघसंस्थाहरु, खेलाडी तथा खेलप्रेमीहरुले रंगशाला सरसफाई अभियान गरिरहेका छन् । प्रत्येक बुधबार धरान फुटबल क्लब, धरान भेट्रान क्लब, हाम्रो भेट्रान क्लबले सरसफाई गर्ने गरेको छ । तर, गोल्डकप नजिकिएको कारण सोमबार पनि सरसफाई गरिएको धरान फुटबल क्लबका नवनिवार्चित अध्यक्ष प्रताप तामाङले बताए । उनले भने,‘यो धरानको एक मात्र रंगशाला हो, यसको संरक्षणमा सबै जुट्नुपर्छ ।’ 

ranggashala copy

सोमबार बिहान ३० जना हाराहारीमा खेलप्रेमी तथा भेट्रान खेलाडीहरु सरसफाईमा सहभागी भएका थिए । धरान १५ का अमर गुरुङले चाडै बुढासुब्बा गोल्डकप हुने भएकोले रंगशालालाई सफा गरिएको बताए । उनले प्रत्येक बुधबार बिहान ७ देखि ९ बजेसम्म सरसफाई अभियान भइरहेको र जो कोही पनि आएर सहयोग गर्नसक्ने बताए । ‘बुढासुब्बा हुदैछ, अन्य प्रतियोगिता पनि हुन्छ । त्यसैले सबै जना मिलेर गर्दैछौं । प्रत्येक बुधबार बिहान ७ देखि ९ बजेसम्म हुदैछ । तपाईहरु जो पनि आउन सक्नुहुन्छ । जसरी हुन्छ, स्टडियम सफा बनाउने हो,’ उनले भने । 

सोमबार सरसफाई अभियानमा धरानका पुर्वखेलाडी तथा राष्ट्रिय रेफ्री कमल गिरी पनि सहभागी भएका थिए । पछिल्लो समय उनी कतारमा छन् । उनले कतार विश्वकप २०२२ को टिसर्ट र मफलर धरान फुटबल क्लबका नवनिवार्चित अध्यक्ष प्रताप तामाङलाई चिनो उपमहार ल्याइदिएका रहेछन् । सोमबार सरसफाई कार्यक्रमकै क्रममा उनले उक्त चिनो अध्यक्ष तामाङलाई हस्तान्तरण गरेका थिए । साथै उनले पुर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइलीलाई पनि टिसर्ट उपहार दिएका थिए ।

ranggashala2

गोल्डकपको तयारीमा तीब्र गतिमा जुटेको जानकारी दिदै अध्यक्ष तामाङले आउने शुक्रबार सुरक्षा बैठक पनि बस्ने जानकारी दिए । खेलाडी र दर्शकलाई सुरक्षित महशुस गराउन बैठक बस्ने तयारी भएको उनले बताए । मदिराले प्रायोजन गर्न नपाउने नेपाल सरकारको नीतिको कारण यसपाली बुढासुब्बा गोल्डकपले मुख्य प्रायोजन पाउन सकेको छैन । विगतमा गोर्खा ब्रुअरीको टुबोर्गले प्रायोजन गर्दै आएको थियो । यद्यपी, गोर्खा ब्रुअरीले विगतमा प्रायोजन गर्ने रकमको आधा भने यसपाली उपलब्ध गराएको पनि अध्यक्ष तामाङले बताए । 

ranggashala3

प्रतियोगिताको दोस्रो पुरस्कार ५ लाख रुपैया धरान समाज युकेले दिने भएको छ भने प्रथम पुरस्कार वापतको १० लाख रुपैया हङकङमा रहेको धरानका विभिन्न संघसंस्थाहरुले सहयोग गर्नेबारे छलफल भइरहेको पनि अध्यक्ष तामाङले बताए । ‘पारदर्शिता र संस्थागत निर्णय गर्ने प्रतिवद्धता दाताहरुसँग गरेका छौं । दाताहरुले अनावश्यक खर्च कटौती गर्न सुझाव दिएको र त्यसै अनुसार अभ्यास पनि भइरहेको छ,’ उनले भने,‘धरान समाज युकेका पुर्वअध्यक्ष राजु लिम्बु धरानमा नै बसेर हामीले गरेको खर्चको अनुगमन गरिरहनुभएको छ ।’

भिडियो: