धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा शुक्रबार प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा मोरङको ग्रामथाम भेट्रान एफसिलाई टाइब्रेकरमा पराजित गर्दै रारा भेट्रान धनकुटाले विजयी शुरुवात गरेको छ । 

निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो । दोस्रो हाफमा रारा भेट्रानले पेनाल्टी अवसर पाए पनि निरा लिम्बु गोल गर्न चुकेको थियो । 

vetran

टाइब्रेकरमा राराको दर्शनभक्त राजलवट, सुर्यकुमार लिम्बु र निरा लिम्बुले गोल गरेका थिए भने शेरबहादुर लिम्बु र विजय राई गोल गर्न असफल भएका थिए । ग्रामथानबाट निराजन बस्नेत र पिताम्बरध्वज भट्टराईले मात्र गोल गर्न सके । रुद्रबहादुर खड्का क्षेत्री, तेजमान लिम्बु र अनन्तराम चौधरी गोल गर्न चुकेका थिए । खेलको म्यान अफ दि म्याच राराका गोलकिपर शिवजी बस्नेत घोषित भए ।

veteran3

 प्रतियोगिता धरान भेट्रानका संस्थापक महासचिव एवं पुर्वखेलाडी बिक्रम राईको स्मृतिमा आयोजना भएको हो । प्रतियोगिता गर्न आयोजक क्लब र स्वर्गीय राईका परिवारबीच सहकार्य भएको छ । स्वर्गीय राई एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईका भाई हुन् । 

प्रतियोगितामा विभिन्न १२ वटा भेट्रान क्लबहरु सहभागी रहेको छ । विजेताले ट्रफीसँगै नगद १ लाख ५ हजार पुरस्कार पाउनेछ भने उपविजेताले ६० हजार नगद पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार पाउनेछ । 

भिडियो: