धरान: २२ औं मिस्टर धरान बडिबिल्डिङ प्रतियोगिता आगामी असोज १९ गते आयोजना हुने भएको छ । 

धरान ९ स्थित हाम्रो व्यायामशालाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिएको हो । हाम्रो व्यायामशालाले पहिलो पटक मिस्टर धरान आयोजना गर्न लागेको हो । नेपाल शारीरिक सुगठन संघ केन्द्रीय समितिबाट स्वीकृति लिएर मिस्टर धरान आयोजना गर्न लागेको हाम्रो व्यायामशालाका सचिव अमन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार हात पार्नेछ भने दोस्रो हुने खेलाडीले नगद ७५ हजार हात पार्नेछ । तेस्रो हुनेले ३५ हजार र चौथो हुनेले २५ हजार नगद पुरस्कार हात पार्नेछ । वेष्ट पोजरले १० हजार र मोष्ट मस्कुलर घोषित खेलाडीले पनि नगद १० हजार पुरस्कार हात पर्नेछन् । प्रतियोगितामा पुरस्कारमा कुल ३ लाख ५ हजार खर्च हुनेछ भने कुल खर्च ८ लाख ६५ हजार खर्च अनुमान गरिएको व्यायामशालाकी अध्यक्ष समिनकला राईले जानकारी दिइन् ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा प्रतिस्पर्धा हुने पनि सचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको अघिल्लो दिन असोज १८ गते प्रि जजिङ राउण्ड हुनेछ । प्रि जजिङ राउण्डबाट प्रत्येक तौल समुहमा ५ जनाको दरले फाइनलको लागि २० जना खेलाडी छनौट हुनेछन् । फाइनल चरणमा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडी उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गर्ने पनि उनले बताए । 

प्रतियोगितामा सहभागी हुन धरानको ठेगाना भएको खेलाडी हुनुपर्नेछ भने अन्य जिल्लाबाट धरान आएर कम्तीमा ५ बर्षदेखि बसोबास गरेको र नियमित व्यायाम गरेको हुनुपर्नेछ । साथै, जिम वा फिटनेश क्लबबाट मात्र प्रतिनिधित्व गर्दै सहभागी हुन पाउने पनि सचिव श्रेष्ठले बताए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष राई, उपाध्यक्ष दिप राई, सचिव श्रेष्ठ, कोषाध्यक्ष सन्तोष राईसहितको आयोजक कमिटि पनि गठन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता धरान ८ स्थित सभागृहमा हुनेछ ।