धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा वडा नं १७ फाइनल प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगशालामा आज (बिहिबार) भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्र्दै वडा १७ फाइनल प्रवेश गरेको हो । वडा नं १३ गत माघ २७ गते सम्पन्न भएको गोधुली रनिङ कपको उपाधि विजेता टोली हो । 

निर्धारित समयको खेल र थप समयको खेलमा पनि दुवै टोलीबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा वडा नं १७ का मिलन राई, तपन कार्की, प्रज्वल थापा र सुसन राईले गोल गरेका थिए भने कृष्ण राई मात्र गोल गर्न असफल भएका थिए ।

वडा नं १३ का ईक्साहाङ लिम्बु, दोर्ज तामाङ र रोमन लिम्बु मात्र गोल गर्न सफल भए । विवेक राई र सुशान्त लोहोरुङ गोल गर्न असफल भएपछि वडा १३ उपाधि होडबाट बाहिरियो । उक्त खेलको म्यान अफ दि म्याच वडा १७ का प्रज्वल थापा घोषित भए । उनले नगद २ हजार र ५ सय बराबरको जिएफएक्स भौचर पनि पुरस्कार पाए । प्रतियोगितामा शुक्रबार वडा नं ११ र १४ बीच दोस्रो तथा अन्तिम सेमीफाइनल खेल हुनेछ ।

गत माघ १३ देखि २७ गतेसम्म आयोजना भएको २४ औं गोधुली रनिङ कपको क्वार्टरफाइनल पुगेका वडाका टिमहरुबीच स्वर्गीय सुवास राईको स्मृतिमा सुपर ८ प्रतियोगिता आयोजना भएको हो ।