धरान: तेस्रो हाम्रो धरान भेट्रान प्रतियोगिताको फाइनल खेल्न नपाएपछि दुधे भेट्रान क्लब झापाले दुःख व्यक्त गरेको छ । साथै, धरानमा कुनै पनि प्रतियोगिता नखेल्ने र धरानको क्लब तथा खेलाडीलाई पनि शिवसताक्षीधाममा हुने प्रतियोगितामा खेल्न नदिने निणय गरेको छ।
धरानमा जारी प्रतियोगिताको सेमीफाइनलमा धरान भेट्रानलाई हराउदै दुधे भेट्रान फाइनल पुगेको थियो । तर, दुधेले नियम विपरीत कम उमेरको खेलाडी पनि सहभागी गराएको भन्दै धरान भेट्रानले आयोजक समक्ष उजुरी गरेको थियो । धरान भेट्रानको उजुरी पश्चात आवश्यक छानबिन गर्दा कम उमेरको खेलाडी सहभागी गराएको पाइएको भन्दै आयोजक हाम्रो धरान भेट्रान क्लबले दुधेलाई फाइनल खेल्न नदिने निर्णय गरेको थियो । आयोजकको यो निर्णयले सेमीफाइनलमा पराजित भएको धरान भेट्रानले शनिबार फाइनल खेल्ने भएको छ ।
कारबाहीमा परेर फाइनल खेल्न नपाएपछि दुधे भेट्रान क्लब झापाले एक विज्ञप्ती जारी गर्दै दुःख मात्र व्यक्त गरेको छैन, आगामी दिनमा धरानमा हुने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको पनि सार्वजनिक गरेको छ । क्लबका अध्यक्ष सन्तोष नेम्बाङले जारी गरेको विज्ञप्तीमा धरानमा जारी प्रतियोगिताको आयोजकको निर्णयले खेलप्रेमीहरुबीचको सद्भावमा पनि असर पुगेको उल्लेख छ ।

नियतवश खेलाडीमाथि प्रहार हुदासमेत आयोजक र पराजित भएको धरान भेट्रान क्लबले आत्मालोचना नगरी मुकदर्शक बसेको भन्दै दुधे भेट्रानले अझ दुःखित तुल्याएको प्रतिक्रिया पनि दिएको छ । यसैगरि, दुधे भेट्रानले आगामी दिनहरुमा धरानमा सञ्चालन हुने कुनै पनि भेट्रान खेलहरुमा सहभागिता नजनाउने निर्णय गरेको बताएको छ ।
साथै, प्रत्येक बर्ष आयोजना हुदै आएको स्वर्गीय कर्णबहादुर अन्तराष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगितामा धरानको कुनै पनि भेट्रान क्लबलाई समावेश नगराउने निर्णय गरेको छ । यस्तै, धरानका खेलाडीहरुलाई शिवसताक्षीमा हुदै आएको कर्णबहादुर भेट्रान प्रतियोगितामा कुनै पनि क्लबबाट खेल्न पाउने निर्णय गरेको पनि दुधे क्लबले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



