धरान: दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका छन् ।

तीन वटा वडाका जनप्रतिनिधिहरुसहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानीको चरम अभाव खेप्नु परेको वडाअध्यक्ष यज्ञमणी आचार्यले बताए । विगतमा खानेपानी बोर्डमा गएर गुनासो राख्ने गरेपनि वेवास्ता गरिएपछि बोर्डका अध्यक्ष मेयर भएकोले उपमहानगरपालिकामै गएर समस्या राखेको वडाअधयक्ष आचार्यले बताए । 

वडाबासी मेयर साम्पाङको कार्यालय पुग्दा प्रहरी तैनाथ राखिएको थियो । सबै वडाबासीहरुलाई मेयर साम्पाङको कार्यकक्षमा प्रवेश गर्न पनि दिइएको थिएन । वडाका जनप्रतिनिधि र सिमित अगुवाहरुलाई मात्र कार्यकक्षमा प्रवेश दिइएको थियो । प्रहरीले मेयरको कार्यकक्ष बाहिरै रोकेपछि वडाबासीहरु आक्रोशित पनि भएका थिए । आक्रोश बढ्दै गएपछि मेयर साम्पाङ कार्यकक्ष बाहिर आएर संक्षिप्त कुराकानी गर्दै पानी पठाउने आश्वासन दिएपनि वडाबासीहरुले चित्त बुझाएका थिएनन् । 

water-mayor 1

‘धारामा पानी अभाव हुन थालेको त ४ महिना बढी भइसक्यो, चरम अभाव भएको अढाई महिना भयो,’ वडा १ का अध्यक्ष आचार्यले भने,‘दिन बिराएर आउनुपर्ने हो, तर पालोमै पानी नआएपछि खानेपानी बोर्डमा गयौ, त्यहाँ विभिन्न बहानाबाजी गरेपछि मेयरलाई नै भेट्न गएको हो ।’ सिस्टममा कर्मचारीहरुबाट केही त्रुटी भएको हुनसक्ने भन्दै मेयर साम्पाङले सल्लाह गरेर पानी पठाउने आवश्वासन दिएको वडाअध्यक्ष आचार्यले बताए । ‘सिस्टममा कर्मचारीले केही गरेको छ कि । म सल्लाह गरेर दिन्छु भनेर आश्वासन दिनुभयो,’उनले भने ।

वडामा पानीको चरम अभाव भएकोले ट्यांकरबाट पनि वितरण गर्ने गरेको तर पर्याप्त नहुने वडाअध्यक्ष आचार्यले बताए । ‘पालोमा १०, १५ मिनेट आउछ, त्यसमा पनि बढी त हावा हुन्छ, र ५ मिनेट जति मात्र पानी आउछ,’ अध्यक्ष आचार्यले भने,‘लगातार २ दिन ट्यांकटरबाट वितरण गर्यौ, तर एउटा घरमा २, ४ बाल्टी पानी हुन्छ, त्यसरी कतिदिन सम्भव हुन्छ र ?’

अध्यक्ष आचार्यका अनुसार पानी वितरणमा कर्मचारीबाट पनि लापरवाही भइरहेकोले अभाव सृर्जना भएको हो । बिहान कर्मचारीलाई सम्पर्क गर्दा फुस्रे ट्यांकीमा पानी छैन भनेर जवाफ दिएको तर मेयर साम्पाङले फोन गर्दा वडा नं १३ लाई पानी दिइरहेको भन्ने जवाफ दिएको पनि अध्यक्ष आचार्यले बताए । ‘आज हाम्रो वडाको पालो थियो, पानी नआएपछि सम्पर्क गर्दा पानी नै छैन भन्यो । अहिले मेयरले फोन गर्दा १३ वडामा दिइरहेको छौं भन्यो,’उनले भने,‘यो त कर्मचारीको लापरवाही र मनपरी भएन ?’

चर्को खडेरीले पछिल्लो साता धरानमा चरम पानी अभाव छ । धरानबासीहरुले निजी ट्यांकरबाट पिउने पानी खरिद गरेर उपभोग गर्न बाध्य छन् । खानेपानीलाई मुल चुनावी एजेण्डा बनाएर मेयरमा निवार्चित हर्क साम्पाङले श्रमदानबाट विभिन्न खोलाको स्रोत थपेपनि पानीको समस्या हल गर्न पर्याप्त छैन । श्रमदानबाट थपेको स्रोतहरुमध्ये कोकाहा खोलामा मात्र अहिले पानी छ । उक्त खोलाको पानी करिब ४२ किलोमिटर पाइप विस्तार गरिएको र डढेलोले क्षति पुगेको कारण बेला बेला अवरुद्ध हुने गरेको छ । अहिले पनि मेयर साम्पाङ डढेलोबाट पाइपलाई क्षति हुन नदिने अग्नीरेखा (फायर लाइन) बनाउन जाने गरेका छन् । जनता पानी नपाएर काकाकुल हुदा पनि मेयर साम्पाङले वितरण प्रणालीलाई व्यवस्थित गरेर समस्या हल गर्न ध्यान नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।