धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । 

आयोजक धरान बास्केटवल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान १६ स्थित रंगशालाको इन्डोर बास्केटवल कोर्टमा हुनेछ । 

प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १७ टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा काठमाण्डौं, झापा, इटहरी र धरानका टिमहरुले सहभागिता जनाउने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल ब्रदर्श बास्केटवल क्लब धरान र आइएसए नेपाल काठमाण्डौंबीच शनिबार दिउँसो १ बजे हुनेछ । 

प्रतियोगिताको समापनको दिन फाइनल खेलअघि प्रकाश पौडेल महिला पुरुष थ्री पोइन्ट कम्पिटिसन पनि हुनेछ । उक्त प्रतियोगिताको प्रायोजन पुर्वबास्केटवल खेलाडी तथा गायक प्रकाश पौडेल रहेका छन् । बास्केटवल खेललाई व्यवसायिक बनाउन उद्घाटन खेलदेखि सेमीफाइनलसम्म प्रवेश शुल्क २० रुपैया लाग्नेछ भने सेमीफाइनलको ३० रुपैया र फाइनल खेलको ५० रुपैया लाग्नेछ ।

alfa beta

प्रतियोगितामा पुरुष टिमका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, महिला टिम विजेताले नगगद २० हजार, उपविजेताले १० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । 

प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडी पुरस्कार विजता पुरुषतर्फ १० हजार र महिलातर्फ ५ हजार पाउनेछ भने अल्फाबिटा फ्रि कोर्ष पनि पाउनेछन् । उदयीमान खेलडाी पुरस्कार विजेता पुरुषतर्फ ५ हजार र महिलातर्फ २५ सय पाउनेछन् । प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिशन विजेता महिला र पुरुष खेलाडीले जनही नगद ५ हजार, ट्रफी हात पार्नेछन् । 

यो प्रतियोगिताको मुख्य प्रायोजक अल्फा विटा कोयला एजुकेशन कन्सल्टेन्ट रहेको छ । धरान २ भानुचोकस्थित साधन भवनमा अवस्थित कन्सल्टेन्टले स्वदेश तथा वैदेशिक अध्ययनको लागि परामर्श गर्नुका साथै तयारी कक्षा सञ्चालन गर्ने गरेको छ । हाल यहाँ विभिन्न बिषयमा एक सय पचास विद्यार्थीहरु अध्ययनरत छन् ।