धरान: एडिबिको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी)बारे पुर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई सोधेको प्रश्नको जवाफ नदिएपछि मेयर हर्क साम्पाङले सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । 

मेयर साम्पाङले आफुले पठाएको पत्रको औचित्य छैन भनेर पुर्वजनप्रतिनिधिले दिएको अभिव्यक्ति जायज नभएको बताए । मेयर साम्पाङले विभिन्न ९ वटा प्रश्न उल्लेख गर्दै बैशाख २७ गते पुर्वमेयर राई र उपमेयर भण्डारीलाई पत्र काटेका थिए । केही दिनपछि दुवैले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर आयोजनाको सम्पुर्ण डकुमेन्ट खानेपानी बोर्ड र उपमहानगरमै भएकोले मेयर साम्पाङले पत्र पठाउनुको कुनै औचित्य नभएको र सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै टिप्पणी गरेका थिए । 

मेयर साम्पाङले भने आयोजनाको ऋण लिने निर्णय कस्ले गरेको र किन असफल भयो भनेर आमजनताले जवाफ खोजीरहेकोले पत्र काटेको बताए । उनले खानेपानी आयोजनाको परीक्षण नगरी जिम्मा लिएको कारण पनि पुर्वजनप्रतिनिधिहरुले जवाफ दिनुपर्ने बताए । ‘जिम्मेवार मान्छेले लोकतन्त्रमा जवाफ दिन्न भन्न पाइन्छ ? म दलको मान्छे हो, के गछौं भने जस्तो भयो,’उनले भने,‘म अख्तियारलाई पनि फेरि छानबिनको लागि लेखेर पठाउछुँ ।’

फाइल खानेपानी बोर्ड र नगरमै भएपनि आफुले गरेको निर्णय र कामको जिम्मेवारी जोकोहीले लिएर जवाफदेही हुनुपर्ने उनले बताए । अख्तियारमा छानबिन गर्न पठाए पनि नगरेको भन्दै उनले पुनः पत्र पठाउने बताए । साथै, आफैले पनि छानबिन शुरु गरेको उनले बताए । ‘समिति गठन गर्दिन, मलाई समितिमा विश्वास नै भएन,’पत्रकारको जवाफमा उनले भने,‘म आफैले छानबिन गर्ने हो । सिरियली आउछ ।’

विजयपुर सबसिस्टमको ट्यांकी निर्माण नभएपछि त्यहाँको बजेटले के काम भयो भनेर खोजी गर्ने उनले बताए । ऐतिहासिक, साँस्कृतिक सम्पदा भएको किरातकालिन दरबार क्षेत्रमा ट्यांकी बनाउने निर्णय गलत भएको पनि उनले बताए । ‘त्यो बेला गलत निर्णय भएकैले आयोजना असफल भयो, सफल भैदिएको भए त यस्तो सास्ती भोग्नै पर्ने थिएन,’उनले भने,‘पानी आएन भनेर मलाई सोध्ने होइन, एडिबि ऋण ल्याउनेलाई सोध्नुपर्छ ।’

उनले अडिट भैसकेको भएपनि पुनः छानबिन गर्ने बताए । कुन साइजको पाइप प्रयोग भएको छ भनेर खनेर नै भएपनि हेर्ने साम्पाङले बताए । ‘पानीकै कारण मैले अन्य क्षेत्रमा हेर्न पाएको छैन । अत्यावश्यक सेवाव खानेपानी हो, यसैमा मात्र ध्यान केन्द्रीत छ । स्वास्थ्य, शिक्षामा ध्यानै दिन पाएको छैन,’उनले भने ।

अख्तियार र सर्तकता केन्द्रले छानबिन गरिसकेको छ: कार्यकारी निर्देशक

खानेपानी बोर्डका कार्यकारी निर्देशक एवं इञ्जिनियर राजु पोख्रेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रबाट छानबिन भएर क्लिनचिट पाइसकेको बताएका छन् ।

पत्रकार सम्मेलनमा पोख्रेलले अख्तियारबाट छानबिनको क्रममा पानी कति उत्पादन भयो भनेर पनि परीक्षण गरेको जानकारी दिए । यस्तै, सर्तकर्ता केन्द्रले टेक्निकल अडिटसमेत गरेको उनले बताए । ‘अख्तियारले आएर पानी उत्पादन कति भयो भनेर हेरेकै हो । सर्तकता केन्द्रले त टेक्निकल अडिट पनि गरेको थियो,’उनले भने । पोख्रेल आयोजनाको प्रमुख पनि थिए । 

भिडियो:

भिडियो: