धरान: लागुऔषध त्यागेर समाजमा पुनःस्थापित भएका युवायुवतीहरुले धरान पुनःस्थापित समुह गठन गरेका छन् । 

हालै मात्र संस्था दर्ता गरेका उनीहरुले अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै समुहले प्रतियोगिता बुधबार र बिहिबार आयोजना गर्ने जानकारी दिएको हो । 

समूहका अध्यक्ष सरल उदासका अनुसार प्रतियोगिता भारतको सिक्किम, दार्जिलिङसमेतका खेलाडी समेटेर सिलगुडीको टिम पनि सहभागी हुनेछ भने झापा, मोरङ, धरान, चतरा, बेलबारी, केराबारी, काठमाण्डौंसमेतबाट गरि कुल १६ टिम सहभागी हुनेछ । त्यस २ वटा टिम महिलाको पनि हुनेछ । खेलाडीहरु सबै लागुऔषध त्यागेर समाजमा पुनःस्थापित भएकाहरु हुनेछन् । 

प्रतियोगिता विजेतालाई १ लाख रुपैयाँसहित ट्रफि पुरस्कार दिइनेछ भने उपबिजेताले ५० हजार नगद पाउनेछ । महिला टिमलाई पुरस्कार स्वरुप गुरुकुल पुनर्स्थापना केन्द्रका सुमन राईले १५ हजार नगद प्रदान गर्ने पत्रकार सम्मेलनमा नै घोषणा गरेका थिए । .प्रतियोगिता धरान-८ स्थित हाम्रो फुटसलमा सञ्चालन हुने समुहका सचिव रोशन रेग्मीले बताए । 

लागुऔषध त्यागेर विभिन्न माध्यमबाट लागुऔषधविरुद्ध अभियानमा योगदान गरिरहेकाहरुले संस्था गठन गरेका हुन् । समुहले लागुऔषधबाट प्रभावित भइरहेको विद्यालय, यातायात क्षेत्रका मजदुरहरु र समुदायमा पनि लागुपदार्थ दुव्यर्सनविरुद्ध अभिमुखीकरण कार्यक्रम गर्ने उद्देश्य राखेको जनाएको छ ।