धरान: मेयर हर्क साम्पाङले वडा नं १३ र ४ को सिमाना पर्ने कोशी राजमार्ग निशानेमा तार घेराबारा गर्न मान्छे पठाएपछि स्थानीय आक्रोशित भएका छन् ।

जग्गा धनीपुर्जासमेत भएको व्यक्तिको निजी स्वामित्वको जग्गालाई जलाधार क्षेत्र भन्दै घेराबारा गर्न मेयर साम्पाङ मान्छे पठाएको भन्दै स्थानीयबासी आक्रोशित हुदै विरोधमा उत्रिएका हुन् । उनीहरुसँगै वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले र वडा नं ४ का अध्यक्ष धनबहादुर राई पनि विरोधमा आएका थिए । मेयर साम्पाङले यथार्थ नबुझी र स्थानीय जनतासँग छलफल, समन्वय नगरि एक्कासी घेराबारा गर्न मान्छे पठाएकोले विरोध भएको वडा १३ का अध्यक्ष नेत्र काफ्लेले बताए । 

अध्यक्ष काफ्ले स्थानीयको जग्गा धनीपुर्जा देखाउदै जलाधारको नाममा बाँझगरा ९ क बषौंदेखि रोक्का हुँदा जिरोपोइन्टसम्मका जनता पीडित हुँदा मेयर साम्पाङले नबोलेको भन्दै आक्रोश पनि पोखे । वडा नं ४ का अध्यक्ष धनबहादुर राईले खानेपानी मुहान फोहोर भएको हो भने स्थानीयबासीसँग छलफल गरेर जनचेतनामुलक कार्य अघि बढाउनुपर्ने बताए । ‘हामी जनताको हरेक समस्यामा उभिन निवार्चित भएकोले जनताकै विपक्षी भएर अघि बढ्नु साहसी काम हुदैन, वृहत छलफल गरेर जानुपर्छ,’उनले भने ।

nishane

स्थानीय टोलविकास संस्थाका अध्यक्ष निकेश राईले जलाधार विवादको कारण आफुहरु जग्गा रोक्का भएर बषौंदेखि पीडित भएको र फेरि नगरले एक्कासी घेराबारा गर्न पठाउदा झन् पीडा थपिएको बताए । खानेपानीको मुहान फोहोर भयो भनेर घेराबारा गर्न खोजेको भन्दै उनले निशानेको नयाँ ट्यांकी बन्नु भन्दा बषौंअघिदेखि नै बस्ती बसिसकेकोले ट्यांकी बनाउदा नै विचार पुर्याउनुपर्ने उनले बताए । ‘निशाने ट्यांकी बनाएर पाइप जोड्नुअघि नै यहाँ माथि वस्ती छ, निजी जग्गा छ भनेर ख्याल गर्नुपथ्र्यो,’उनले भने,‘घेराबारा गर्न खोजेको ठाउँमा होटल थियो, पहिरोले लगेको हो । यो नम्बरी जग्गा नै हो । स्थानीयसँग यस्तो समस्या छ, के गरौं भनेर सहकार्य गर्दा हुन्थ्यो ।’

nishane2

संघीय वन मन्त्रालयले जलाधार क्षेत्र घेराबारा गर्न चालु आर्थिक बर्षमा बजेट विनियोजन गरेको छ । सोही बजेटबाट मेयर साम्पाङले सर्दु जलाधार क्षेत्र संरक्षणको लागि घेराबारा गर्ने योजना अघि बढाउन खोजेका हुन् । तर, निशाने क्षेत्रको निजी जग्गामा घेराबारा गर्न लागेको भन्दै स्थानीय विरोधमा उत्रिएपछि काम प्रभावित भएको छ । निशाने खोला वारी जलाधार क्षेत्र नपर्ने र सट्टाभर्ना पनि नदिएको स्थानीयको भनाई छ । 

भिडियो: