धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका पीडित वचत एवं लगानीकर्ताहरुको अनेक प्रयत्नको बाबजुद बराहको धरान २ र धरान ८ स्थित सपिङ मलसहितको जग्गाहरु बैंकले लिलाम गरेको छ । 

प्राइम कमर्सियल बैंकले साविक धरान ५ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको कित्ता नम्बर ३४० को ८ धुर, ३४१ र ३९६ कित्ता नम्बरको १६.५ धुर जग्गा, श्रीपा स्टोर प्रालि धरान ७ (ख) को कित्ता नम्बर १२३२, २३८३, २५४०, ९६३, १२२९, १२३०, २५४४ को क्षेत्रफल ६.७५ कट्ठा र व्यवसायिक भवनहरु लिलामको प्रक्रियामा गएको हो । बराहको उक्त्त सम्पत्ति बैंकबाट स्तुती रिटेल्स प्रालिले सकार्ने भएको छ ।  उक्त प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिईएको छ ।

उक्त प्रालिले बराहको सम्पत्ति सकारेपछि व्यवसाय सञ्चालन गर्न दिने गरि बराह व्यवसाय समन्वय तथा अनुगमन समितिसँग १६ बुँदे सम्झौता पनि गरेको छ । सम्झौता अनुसार बराहको भानुचोक र धरान ८ धनकुटे रोडस्थित सपिङ मलबाट व्यवसाय शुरु हुनुभन्दा अघि ५ महिनाको लागि १ करोडसम्म रेस्क्यु (उद्दार) कोष प्रालिले बनाउनुपर्ने छ । उक्त कोष बराह पीडित वचतकर्ताहरु विरामी तथा अन्य आकस्मिक कार्यहरुको लागि हुनेछ । उद्दार कोषमा जम्मा भएको रकम भुक्तानी हुँदा खाताबाट कट्टा गरिने पनि उल्लेख छ । 

barah1

यस्तै, स्तुती रिटेल्सले सबै व्यवसाय सञ्चालन शुरु भएको ३ महिना पुगेपछि सबै व्यवसायको खुद मुनाफाको ३ भागको एक भाग बराहका लगानीकर्ताहरु तथा बचतकर्ताहरुले वचत गरेको आधारमा भुक्तानी गर्ने प्रयोजनको लागि बास्केट फण्डमा रकम जम्मा गर्ने पनि सम्झौता छ । तीन महिनापश्चात प्रत्येक महिना सो रकम उक्त कोषमा जम्मा गर्ने र पीडित वचतकर्ताहरुलाई उपसमिति गठन गरि निर्देशिका बनाएर वितरण गर्दै जाने पनि सम्झौतामा उल्लेख छ । तर यो सुविधा लिन नयाँ कम्पनीमा सेयर सदस्य हुनुपर्ने पनि उल्लेख छ।

नयाँ कम्पनीमा बराहका लगानीकर्ता तथा वचतकर्ताहरुले पनि अनिवार्यरुपमा ५ हजारसम्म र सो भन्दा बढी स्वेच्छाले सेयर खरिद गर्नुपर्ने पनि सम्झौता उल्लेख छ । पाँच हजारसम्म सेयर खरिद गर्न नसक्ने वचतकर्ताहरुको लागि समन्वय समितिको उपसमितिबाट आर्थिक अवस्थाको निरीक्षण गरेर सो को सिफारिशको आधारमा रकम बुझाउन नसक्ने देखिए उद्दार कोषबाट पीडितकको नाममा ५ हजारसम्मको सेयर खरिद गरेर प्रमाणपत्र जारी गर्ने पनि सम्झौतामा उल्लेख छ । उक्त सेयर खरिद भएको रकम बराहको लगानीकर्ता तथा वचतकर्ताको खाताबाट कट्टा हुनेछ । 

यस्तै, बैंकमा धितो रहेको बराहको सम्पुर्ण सम्पत्तिहरु लिलाम भएर अन्यले लैजान नसकोस् र पीडितहरुले नै प्राप्त गर्न सकोस् भन्ने अभिप्रायले स्तुती रिटेल्स प्रालिले सकार गरि लिने पनि सम्झौतमा उल्लेख छ । यसरी सकार गरिलिएको सबै खर्चहरु कभर गरि बाँकी रहेको सम्पत्तिहरुको बिक्री तथा आम्दानीबाट प्राप्त भएको रकमहरु वचतकर्ताहरुको लागि जम्मा गर्ने बास्केट फण्डमा जम्मा गर्ने पनि सम्झौतामा उल्लेख छ । 

*सकार्ने हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।

123