धरान: तेस्रो गोर्खा ट्रेल ब्लेजर दौडको तयारी पुरा भएको आयोजकले जनाएको छ । 

गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले बिहिबार अन्तिम पत्रकार सम्मेलन गर्दे चैत २ गते शनिबार हुने दौडको तयारी पुरा भएको जानकारी दिएको हो । प्रथम र दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा दौड आयोजना गरिदै आएको छ । पुर्खा दिवसको अवसर पारेर दौडसँगै जिवित रहेका वीर योद्धाहरुलाई सम्मान पनि गरिने अध्यक्ष महेन्द्र राईले जानकारी दिए । 

दौडं धरान १८ स्थित रत्नचोकबाट वडा ११ मंगलबारे चोक हुदै वडा नं २० स्थित गोर्खा स्मृति पार्कसम्म हुनेछ । यो दौडको दुरी १० किलोमिटर रहेको छ । दौडमा ६ जनाको संख्यामा सहभागिता रहने आयोजक संस्थाका सदस्य विकास चाम्लिङ राईले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताले क्रमशः जनही नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् । साथै, दौडमा प्रथम हुने महिला र पुरुषलाई आगामी बर्ष सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेल ब्लेजर रनमा सहभागिता जनाउने अवसर पनि पाउनेछन् । तर प्रथम हुने महिला र पुरुष नेपाली नागरिक अनिवार्य हुनुपर्ने आयोजकको भनाई छ । 

दौड प्रतियोगिता बिहान साढे ६ बजे शुरु हुनेछ । खेलाडीहरुलाई स्वागत तथा वार्मअपका लागि किरात राई यायोक्खा धरान १८ नम्बर वडा समितिले बिहान ६ बजेदेखि नै साकेला नाच प्रर्दशन तथा सहभागीहरुलाई नचाउने पनि आयोजकले जानकारी दिएको छ । दौड प्रतियोगिता भने ठिक ७ बजे हुनेछ । 

दौड समापन गोर्खा स्मृति पार्कमा हुनेछ । उक्त समापन समारोहमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगाका (हाल उदयपुर बेल्टार निवासी) १०२ बर्षीय भूपू ब्रिटिश सैनिक दलबहादुर राईलाई सम्मान गरिनेछ । धरानको रत्नचोक निवासी १० जिआरका पुर्वब्रिटिश गोर्खा सैनिक क्याप्टेन दिवंगत रत्नमान राईकी श्रीमति ८५ बर्षीय कृष्णदेव राईलाई पनि सम्मान गरिने अध्यक्ष राईले जानकारी दिए । 

वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोले प्रतियोगिता र दौडलाई सम्पन्न गर्न सहयोग एवं सहजीकरण गर्ने बताए । ट्रष्टले अप्रिल ५ लाई पुर्खा दिवस मान्दै आएको छ । सन् २०२३ देखि धरान वडा नं १८ कार्यालयसँग सहकार्य गरि ट्रष्टले गोर्खा ट्रेल ब्लेजर रनको शुरुवात गरेको थियो । पुर्खा दिवसको अवसरमा हङकङमा पनि ट्रेल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।