धरान: धरानमा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान १५ स्थित होटल धरान किचनमा क्लबले पत्रकार सम्मेलन गर्दै यही असार ६ गतेदेखि १४ गतेसम्म धरान १६ स्थित रंगशालामा प्रतियोगिता हुने जानकारी दिएको हो । आयोजक क्लबका अध्यक्ष सागर घिमिरेका अनुसार प्रतियोगिता नकआउट हुनेछ । 

प्रतियोगितामा विभिन्न ८ वटा क्लबहरुको महिला टिमले सहभागिता जनाउने पनि अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा अल स्टार फुटबल क्लब, धरान वुमेन्स फुटबल क्लब, प्रगतिशिल फुटबल क्लब, धरान ४ फुटबल क्लब, फेयर फुटबल क्लब, धरान १३ स्पोर्टिङ फुटबल क्लब, सिग्मी फुटबल क्लब र पटनाली फुटबल क्लबको सहभागिता रहनेछ । 

womens football1

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्नेछ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट कोच र उदयीमान खेलाडीले जनही नगद २ हजार पुरस्कार पाउनेछन् । साथै, वेष्ट टिमले नगद ३ हजार पुरस्कार पाउदा प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक क्लबले जानकारी दिएको छ । 

प्रतियोगिताले महिला फुटबल खेलको विकास, व्यवसायीकरण तथा संस्थागत प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको अध्यक्ष घिमिरले बताए । धरानमा पहिलो पटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुन लागेको हो । यसले महिला खेलाडीहरू उत्पादन गर्न र खेलाडीहरुलाई हौसला प्रदान गर्न भुमिका खेल्ने आयोजक क्लबको भनाई छ । 

प्रतियोगितामा कुल ३ लाख ८५ हजार आय हुने र ३ लाख ५४ रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि संयोजन रहेको धरान उपमहानपालिकाबाट १ लाख ५५ हजार अनुदान प्राप्त हुने आयोजकको भनाई छ । यस्तै, विभिन्न दातृसंस्था, सहयोगी संस्था र खेलप्रेमीहरुबाट पनि सहयोगको अपेक्षा गरिएको अध्यक्ष घिमिरले बताए ।