धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ।
धरान १८ स्थित डिपो स्कुलको कोर्टमा शुक्रबार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सहज जित निकालेको धनकुटा र पराजित भएको उदयपुरले प्रत्येक क्वाटरमा क्रमशः १५–४, १३–३, १३–१३ र १४–४ अंक जोडेको थियो । जितसंगै धनकुटाले आयोजक जिल्ला सुनसरीसंग फाइनलका लागि सेमिफाइनलमा भिड्नेछ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका नविन राई म्यान अफ द म्याच घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले ट्रपि प्रदान गरे ।
यस्तै, आजै शुक्रबार भएको दोस्रो खेलमा भोजपुर टिमले ओखलढुङ्गा बास्केटवल टिमलाई ६१–३२ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। भोजपुर र ओखलढुङ्गाले खेलको प्रत्येक क्वाटरमा ११–७, १७–१०, १७–९ र १६–६ अंक जोडेको थियो । भोजपुर बास्केटवल टिमका दिवस राई म्यान अफ द म्याच घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफि प्रदान गरेका थिए ।
जितसंगै भोजपुर टिमले फाइनलको लागि इलाम बास्केटवल टिमसंग शनिवार प्रतिस्पर्धा गर्नेछ । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको छ । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा प्रतियोगिता सञ्चालनमा आएको हो । प्रतियोगिताको फाइनल खेल असार ८ गते आइतवार हुनेछ ।