धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघले तीन महिने ब्याडमिन्ट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । 

संघको आयोजनामा शुक्रवारदेखि विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम शुरु भएको हो । धरान १३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा प्रशिक्षण कार्यक्रम शुरु भएको सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टन वल्ड फेडेरेसनका लेभल १ सर्टिफाइड प्रशिक्षक प्रतिक श्रेष्ठले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं  नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा जिल्ला ब्याडमिन्टन संघका संस्थापक अध्यक्ष चन्द्रशेखर लामाले गरेका थिए । सानो उमेरका विद्यार्थीहरुलाई ब्याडमिन्टन खेलमा दक्ष बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष तथा मुख्य ब्याडमिन्टन प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।

प्रमुख अतिथि एव केन्द्रीय उपाध्यक्ष लामाले शुभकामना मन्तव्य गर्दै प्रशिक्षणले ब्याडमिन्टन खेलको विकास, प्रर्वद्धन तथा भविष्यका प्रतिभावान खेलाडीहरु जन्माउन प्रोत्साहित गर्ने बताए । उनले आयोजक संघलाई बधाई पनि दिएका दिए ।

badminton copy

उद्घाटन समारोहमा युके एनबिएका पुर्वअध्यक्ष तेज मेन्याङ्बो, अमर सेवा समाजका अध्यक्ष भुमी पेइम, धरान ब्याडमिन्टन क्लबका अध्यक्ष टन्क लिम्बू, जिल्ला संघका सल्लाहकारहरु मेहर लाल श्रेष्ठ, वितरक संघका अध्यक्ष नबिन तामाङ, सागुरीगढी ब्याडमिन्टन क्लवका उपाध्यक्षलगायतको उपस्थिति रहेको थियो । यस्तै, विभिन्न विद्यालयका विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रशिक्षण कार्यक्रममा धरान उपमहानगरपालिका, अमर सेवा समाज, धरान ब्याडमिन्टन क्लब, मेहर कलेक्सनले सहयोग गरेको छ । उद्घाटन समारोहमा मेहर कलेक्सनका सन्चालक मेहर श्रेष्ठले खेल सामग्री बितरण गरेका थिए । ब्याडमिन्टन प्रशिक्षणमा प्रशिक्षक प्रतिक श्रेष्ठ, सुनसरी जिल्लाका पुर्व राष्ट्रिय खेलाडी देबेन्द्र खडका, अनमोल राई, गीता राई, योगिता लिम्बू लगायतले सहजीकरण गर्नेछन्।