धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु पनि कायम गराउनुपर्ने माग लिएर धरानबासीहरु आन्दोलनमा उत्रिरहदा साउन १ गतेदेखि स्वास्थ्य बीमाका सम्पुर्ण सेवाहरु नै निष्क्रिय हुने जोखिम बढेको छ । 

बीमा सेवाबारे छलफल गर्न पुगेका राजनीतिक दलका प्रतिनिधिहरुसँग प्रतिष्ठानका पदाधिकारीहरुले यही साउन ३२ गते बीमा बोर्डसँगको सम्झौता अवधि सकिने जानकारी दिएका हुन् । प्रतिष्ठानका पदाधिकारीहरुका अनुसार सम्झौता नवीकरणको लागि बीमा बोर्डका पदाधिकारीसँग प्रत्यक्ष संवाद गरी नवीकरण र बक्यौता भुक्तानी दुबैको बिषयमा आवश्यक समन्वय गरिसक्दा पनि हालसम्म बोर्डबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन । 

‘यही बिषयमा २ पटक बीमा बोर्डमा गएर कुरा गरेका छौं । पछिल्लो पटक त तीनै जना पदाधिकारीहरु सिनेटरसहित बीमा बोर्डमा गएर कुरा राखेका छौं,’ निमित्त उपकुलपति प्रा.डा. सञ्जिवकुमार शर्माले भने,‘हामीले यहाँको अवस्थाबारे गुनासो राख्यौं र समाधानको कुरा पनि गर्यौं । बीमा दाबीको बक्यौता भुक्तानी दिनुस् पनि भन्यौं । कुनै प्रतिक्रिया पाएका छैनौं ।’

प्रतिष्ठानका अनुसार २०७४ साल साउन १ गतेदेखि तीन बर्षको लागि बीमा बार्डसँग पहिलो सम्झौता भएको थियो । उक्त म्याद सकिनुअघि ५ बर्षको लागि बीमा बोर्डले एकतर्फी सम्झौता नवीकरण गरेको जनाएको थियो । अहिले पुनः म्याद सकिन लागेपछि जेठ १२ गते प्रतिष्ठानलाई बोर्डले नवीकरण गर्न इच्छुक भएमा ७ दिनभित्र कागजपत्र उपलब्ध गराइदिने भनेर पत्र पठाएको थियो । जवाफमा प्रतिष्ठानले पत्राचार गरेपनि बीमा बोर्डले केही जानकारी नगराएको उनले बताए । 

bpkihs meeting1

‘हामीले २१ गते सम्झौताको लागि बाँकी बक्यौता भुक्तानी होस्, र सम्झौताको केही बुँदामा संशोधन होस् भनेर तीन पानाको पत्र पठायौं, अहिलेसम्म केही जवाफ आएको छैन,’ अस्पताल प्रशासन प्रमुख अशोकुमार साहले भने,‘मन्त्रालयमा पनि २३ गते लेखेर पठायौं । बीमा बोर्डले नवीकरण गर्दैछौं, वा नवीकरण गर्न आउनुस् भनेर केही भनेको छैन । साउन १ गतेदेखि बीमा कार्यक्रम स्वतः निष्क्रिय हुने भयो । सम्झौताको म्याद सकिएपछि त सेवा कसरी दिने ?’

पछिल्लो समय प्रतिष्ठान बीमा सेवाको रेफरल सेन्टर मात्र भएकोबारे नगरबासीहरु आन्दोलनमा उत्रिएका छन् । राजनीतिक दलहरुले पनि प्रतिष्ठानबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय सच्याउनुपर्ने भन्दै बीमा बोर्ड र सरकारलाई निरन्तर दबाब दिइरहेका छन् । तर, सम्झौता नवीकरणको २ दिन मात्र बाँकी रहदा पनि बीमा बोर्डबाट कुनै प्रतिक्रिया नआउदा साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमको सम्पुर्ण सेवाहरु नै निष्क्रिय हुने प्रतिष्ठानले स्पष्ट पारेको हो । ‘तर पनि हामीलाई के विश्वास छ भने बीमा सेवा नै निष्क्रिय हुने अवस्था हुनेछैन,’ निमित्त उपकुलपति प्रा.डा.शर्माले आशावादी हुदै भने ।

७४ करोड बक्यौता हुँदा प्रतिष्ठान गम्भीर आर्थिक संकटमा

bpkihs team

वीपी प्रतिष्ठानको आम्दानीको ६० प्रतिशत स्वास्थ्य बीमा सेवाले कभर गर्ने गरेको छ । तर, बीमा सेवा वापतको दाबी रकम समयमा नै बीमा बोर्डबाट नपाउदा प्रतिष्ठान गम्भीर आर्थिक संकटमा परिरहेको छ । 

प्रतिष्ठानका पदाधिकारीहरुका अनुसार कर्मचारीहरुको तलब, सुविधा तथा अस्पताल सञ्चालन सम्बन्धी सम्पुर्ण खर्चहरु आन्तरिक स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । बीमा बोर्डबाट पाउनुपर्ने झण्डै ७४ करोड ५० लाख बराबरको बक्यौता भुक्तानी नहुँदा प्रतिष्ठानले गम्भीर आर्थिक संकटको सामना गर्नुपरिरहेको रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले बताए । 

‘प्रतिष्ठान आर्थिकरुपमा क्रिटिकल फेजमा छ, यो जुनसुकै बेला पनि ढल्न सक्छ,’उनले भने,‘हामीले बीमा सेवा दिए वापत पाउने रकम ७४ करोड नदिने हो भने कसरी चल्छ ? चल्ने सम्भावना छैन । शिक्षक र कर्मचारीलाई तलब नदिने हो भने सेवा गर्न को जान्छ ?’ उनले समस्या हल गर्न राजनीतिक दल, स्थानीय सरकार, वीपी प्रतिष्ठान, नागरिक समाज एकढिक्का भएर लाग्नुपर्ने पनि बताए । 

बीमा बोर्डले भुक्तानी नदिए प्रतिष्ठानले करिब ५५ करोड जति विभिन्न सप्लायर्सलाई दिनुपर्ने रकम पनि रोकिनेछ । यसले आगामी आर्थिक बर्षमा औषधी, विभिन्न आवश्यक सामग्रीहरुको टेण्डर गर्दा सप्लायर्सहरुले टेण्डर नहाल्ने र अस्पताल सेवा नै प्रभावित हुनसक्ने खतरा पनि हुने निमित्त उपकुलपति प्रा.डा.शर्माको भनाई छ । ‘जसको हामीले औषधीजन्य सामाग्री किनेका छौं, उनीहरुको पैसा यो बर्षमा भुक्तानी दिएनौं भने अर्को आर्थिक बर्षमा त टेण्डर पनि हाल्दैन,’उनले भने, ‘हामीसँग त सामान पनि हुदैन, अनि कसरी सेवा दिने ? हाम्रो यो पीडा पनि छ ।’

धरानमा आधारभुत स्वास्थ्य केन्द्र पनि नहुदा समस्या

स्वास्थ्य बीमा बोर्डले स्थानीय तहमा आधारभुत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रथा सेवा बिन्दु सञ्चालन गर्न सक्ने नीति बनाएपनि धरानमा भने यी दुवै अवस्था नहुँदा समस्या सृर्जना भएको छ । धरानमा सुविधा सम्पन्न आधारभुत स्वास्थ्य केन्द्र वा नगर अस्पताल पनि नभएपछि यहाँका जनता बीमा सेवा पाउनको लागि छिमेकी पालिका पुगेर त्यहाँको स्वास्थ्य केन्द्रबाट सिफारिश पत्र लिएर आउनुपर्ने बाध्यता हुनेछ । 

यद्यपी, चौतर्फी आवाज उठेपछि आइतबार बीमा बोर्डले सबै स्थानीय तहलाई पत्राचार गरेर कुन कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु आवश्यक पर्ने हो, र प्रथम सेवा बिन्दुका लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ, त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ । स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा बिन्दुको माग र प्रस्तावित प्रथम सेवा बिन्दुको न्युनतम अपुग मापदण्ड एकमहिनाभित्र पुरा गर्ने प्रतिवद्धतासमेतको आधारमा बोर्डले नयाँ प्रथम सेवा बिन्दु थप गर्नेबारे आवश्यक निर्णय लिने पनि जनाएको छ । 

वीपी प्रतिष्ठानमा पदाधिकारी र राजनीतिक दलहरुबीच छलफल चलिरहदा बोर्डको यो पत्र सार्वजनिक भएको थियो । उक्त पत्रमा उल्लेख भएको व्यवहोराले अब स्थानीय तह (धरान उपमहानगरपालिका) ले वीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु कायम गराउन भुमिका खेल्नुपर्ने प्रतिष्ठान पदाधिकारी र राजनीतिक दलहरुले निष्कर्ष निकालेका थिए । ‘स्थानीय सरकारले आवश्यक पहलकदमी लिनुपर्ने देखिन्छ । अहिलेसम्म आधारभुत स्वास्थ्य केन्द्र पनि धरानमा छैन,’कांग्रेस सभापति श्याम पोख्रेलले भने,‘स्थानीय सरकार प्रमुखले यसतर्फ ध्यान दिन जरुरी छ ।’

भिडियो: