धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरकोरुपमा मात्र कायम गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णयप्रति धरानका राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एकीकृत समाजवादीले शनिबार राती संयुक्तरुपमा स्वास्थ्यमन्त्रीलाई सम्बोधन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बीमा बोर्डको निर्णय नेपालको संविधान २०७२ मा भएको मौलिक हकको व्यवस्थापको प्रतिकुल भएको पनि राजनीतिक दलहरुले बताएका छन् ।

राजनीतिक दलहरुले धरानका जनताहरुको हितलाई मध्यनजर गर्दै वीपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्र र रेफरल सेन्टरकोरुपमा पनि कायम गरिदिन अनुरोधसमेत गरेका छन् । वीपीमा दुवै सेवा सुचारु हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै दलहरुले बीमा बोर्डले निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । 

धरान उपमहानगरपालिका भित्र कुनै पनि सरकारी स्वास्थ्य संस्था नरहेको भन्दै दलहरुले बीमा बोर्डको पछिल्लो निर्णयले धरानका जनताहरु वीपी प्रतिष्ठानबाट बीमा सेवा लिन पहिलो पल्ट इटहरी, इनरुवा वा बराहक्षेत्रमा रहेको सरकारी अस्पताल जानुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । 

bpkihs party copy