धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदको दौडमा रहेकामध्ये अन्तिम तीन जना छानिएका छन् ।
आवेदन दिएकाहरुबाट सर्ट लिष्टमा परेका ६ जना मध्येबाट उपुकलपति सिफारिश समितिले अन्तिम ३ जनाको नाम तय गरेको हो । सर्ट लिष्टमा भएकाहरुको शुक्रबार भएको अन्तरवार्ता र प्रस्तुतीकरण पछि सम्भावित ३ जनाको नाम तय गरेको हो । सिफारिश समिति निकट स्रोतका अनुसार प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रोहितप्रसाद यादव र प्रा.डा.रामेश कोइराला छानिएका हुन् ।
दलीय भागवण्डामा वीपी प्रतिष्ठानको उपकुलपति पद कांग्रेसको भागमा परेको छ । तीनै जना कांग्रेस निकट चिकित्सक हुन् । यसअघि, सर्ट लिष्टमा प्रा.डा.कृष्णकुमार राई, प्रा.डा.पशुपति चौधरी, प्रा.डा.प्रहलाद काकी, प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठ, प्रा.डा.रोहित प्रसाद यादव र प्रा.डा.रामेश कोइराला रहेका थिए ।
सम्भावित तीन जनामा परेकाहरुमध्ये पनि प्रा.डा.कार्की प्रतिष्ठानमा कार्यरत रही हाल उमेरहदको कारण अवकाश पाएका चिकित्सक हुन् । उनी यसअघि प्रतिष्ठानको निर्देशक र पछिल्लो समय कायममुकायम उपकुलपति पनि रहेका थिए । राजनीतिक पहुँच कांग्रेस नेतृत्वसम्म रहेका डा.कार्की उपकुलपतिमा नियुक्त पाउने सम्भावना रहेको छ ।
यस्तै, अर्का सम्भावना भएका चिकित्सक हुन् प्रा.डा.कोइराला । उनी कांग्रेस महामन्त्री गगन थापा निकट छन् । वरिष्ठ मुटुरोग बिशेषज्ञ रहेका उनी सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत छन् । अघिल्लो पटक पनि उनी वीपी प्रतिष्ठानमा उपकुलपति हुने चर्चा चलेको थियो ।
अर्का, सम्भावना भएका चिकित्सक प्रा.डा.यादव हाल विराट मेडिकल कलेजमा कार्यरत छन् । उनी बीपी प्रतिष्ठानकै एमबिबिएस पहिलो ब्याच (१९९४) का विद्यार्थी हुन् । उनले सर्जरीमा एमडि पनि वीपी प्रतिष्ठानबाट नै गरेका थिए ।
उपकुलपति सिफारिश समितिले तीन जनाको नाम कुलपतिसमेत रहेका प्रधानमन्त्री समक्ष पठाउने र तीनमध्ये एक जनालाई कुलपतिले नियुक्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । वीपी प्रतिष्ठानले केही दिनभित्रै नयाँ उपकुलपति पाउनेछ । डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि हाल निमित्त उपकुलपतिको जिम्मेवारी पनि शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले सम्हाल्दै आइरहेका छन् ।







