धरान: हिजो (बुधबार) धरानको कार्यपालिका बैठकमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले स्रोत अनुमान र बजेट सिलिङ समितिमा प्रतिनिधित्व गर्ने वडा १५ का अध्यक्ष नरेश इवारमले बजेटबारे पार्टीले दबाब दिएकै कारण एमाले संसदीय दलको नेताबाट राजिनामा दिएको खुलासा गरेका थिए ।
एमालेका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले बैठकमा बजेट निर्माणको प्रक्रिया र मेयर भिजन, उपमेयर भिजनप्रति तीब्र असन्तुष्टी प्रकट गरिरहेका थिए । तर, विगतमा झैं वडा १५ का अध्यक्ष एवं एमाले संसदीय दलका नेता पनि रहेका इवारम बैठकमा उपस्थित थिएनन् । कानुनले स्थानीय तहमा संसदीय दलको व्यवस्था नगरेपनि धरानमा भने कार्यपालिका र नगरसभामा प्रतिनिधित्व गर्ने दलहरुले यो अभ्यास गर्दै आइरहेका छन् ।
स्रोतका अनुसार बजेटबारे एमालेभित्र दुई धार देखिएको छ । पार्टी नेतृत्वले मेयर भिजन र उपमेयर भिजन नाम गरेर बजेट छुट्याउन नहुने भन्दै दबाब दिएको छ । इवारमसहित केही जनप्रतिनिधिहरु भने गत आर्थिक बर्षमा नै यही नाममा बजेट छुट्टीएकोले सहमति गरेर बजेट ल्याउनुपर्ने पक्षमा थिए । ‘तर पार्टीले कुनै हालतमा हुदैन भनेपछि यो स्थिति भएको हो,’ एमाले स्रोतको भनाई छ ।
एमाले धरानका अध्यक्ष हर्क एभेङले भने इवारमले संसदीय दलको नेताबाट राजिनामा नदिएको जिकिर गर्छन् । उनका अनुसार इवारमले राजिनामा दिएको नभै जिम्मेवारीबाट विदा माग गरेर निवेदन दिएका छन् । ‘कामको ब्यस्तताले जिम्मेवारी वहन गर्न सक्दिन भनेर निवेदन दिनुभएको छ, राजिनामा र निवेदन फरक हो,’ उनले भने,‘उहाँ कहिलेसम्म भ्याउनुहुन्न, त्यसबेलासम्म उपनेता सावित्री परियारलाई नेतृत्व र समन्वय गर्न भनेको छुँ ।’
बजेटमा सहजीकरण गर्न भन्दै कार्यदल गठन
नेकपा एमालेले धरानमा बजेट बनाउन आफ्ना जनप्रतिनिधिहरुलाई सहजीकरण गर्ने भन्दै कार्यदल गठन गरेको छ । यो कार्यदलले बजेट निर्माणबारे आफ्ना जनप्रतिनिधिहरुलाई सहजीकरण भन्दा पनि निर्णयमा हस्तक्षेप गरिरहेको छ । विगतमा भने संसदीय दलले पार्टी नेतृत्वसहित छलफल गरेर निर्णय लिदै आएपनि यसपटक कार्यदल नै गठन गरेको छ ।
पार्टीले कार्यदलको नाममा भएको हस्तक्षेपबाट नै असन्तुष्ट बनेर संसदीय दलका नेताबाट इवारमले राजिनामा दिएका हुन् । स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा १८ औं पटकको बैठकको निर्णयमा अन्य दलबाट प्रतिनिधित्व गरेकाहरुले हस्ताक्षर गरेपनि एमालेका इवारम र सावित्री परियारले पार्टीमा छलफल गर्ने भन्दै हस्ताक्षर गरेका थिएनन् ।
बजेटमा सहजीकरण गर्न भन्दै एमालेले कोशी प्रदेशसभाका सांसदसमेत रहेका पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य तथा धरान नगर इञ्चार्ज विजयकुमार राई संयोजक रहेको एक कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा पार्टी अध्यक्ष हर्क एभेङ, वडा १३ का अध्यक्ष नेत्र काफ्ले, वडा १० का अध्यक्ष विवेक राई र कार्यपालिका सदस्य विकास भाटी सदस्य छन् ।
बजेटबारे लामो समयसम्म टुंगो नलागेको कारण निकास दिन कार्यदल गठन गरिएको एमाले धरान अध्यक्ष एभेङको भनाई छ । ‘यो कार्यदल सहजीकरण गर्न, निकास दिनको लागि गठन भएको हो । गाँठो के हो फुकाउनुपर्छ भनेर बनेको हो,’ उनले भने,‘यो संसदीय दलको नेतालाई सहज बनाउन नै बनेको हो, र सहज पनि भएको छ ।’
एभेङले मेयर उपमेयर कोष यथावत राख्ने तर मेयर भिजन र उपमेयर भिजन अवण्डामा राख्न हुदैन भन्ने अडान रहेको बताए । साथै उनले मेयर उपेयर भिजनको बजेट वडामा नै पठाउनुपर्ने पनि एमालेको धारणा रहेको बताए । ‘घाटा बजेट छ, धरानले धान्न नसक्ने गरी घाटा बजेट अत्यधिक नबनाउन, मिनिमाइज गरौं भन्ने हो,’ उनले भने,‘स्रोतको पनि सुनिश्चितता नभएकोले सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । यस्तै, कर पनि वृद्धि गरेको देखिन्छ । कर नबढाउन बरु करको दायरा बढाउ भन्ने अडान हाम्रो हो ।’
मेयर–उपमेयर भिजनको विरोध तर अवण्डा मेयर र उपमेयर कोषबारे मौन
एमालेले मेयर र उपमेयर भिजन शिर्षकमा छुट्टीएको बजेट राख्न नहुने अडान लिएपनि बेरुजु हुने गरि छुट्टीदै आएको अवण्डा मेयर कोष र उपमेयर कोषबारे भने मौन छ ।
मेयर भिजन र उपमेयर भिजन भने गत आर्थिक बर्षमा मेयर र उपमेयर कोष जस्तो अवण्डा थिएन । मेयर भिजन र उपमेयर भिजनमा विनियोजन गरिएको बजेटलाई विभिन्न योजनाहरुमा ‘ब्रेकडाउन’ नै गरिएको थियो । मेयर कोष र उपमेयर कोष भने 'ब्रेकडाउन' नगरिने भएकोले मेयर र उपमेयरले आफ्नो स्वेच्छाले विभिन्न योजना र कार्यक्रमहरुलाई रकम बाँड्ने गरेका छन् । महालेखाले यो अवण्डा कोषमा रकम विनियोजन नगर्न सचेत गराउदै आएपनि निरन्तरता पाइराखेको छ ।
'ब्रेकडाउन' गरिएको योजना र बजेटलाई आफुखुशी अन्यत्र खर्च गर्न पाइदैन । यसको लागि कार्यपालिकाले बजेट रकमान्तर गर्ने निर्णय गरेर नगरसभाबाट अनुमोदन गर्नुपर्ने हुन्छ । तर मेयर कोष र उपमेयर कोषमा भएको बजेट खर्च गर्न यो प्रक्रिया अपनाइरहनु पदैन ।
तत्कालिन मेयर स्वर्गीय तारा सुब्बाको पालामा मेयर कोष राख्न शुरुवात भएकोले एमालेले यो कोष हटाउन तर्फभने चासो दिएको छैन । पछिल्लो समय उपमेयर कोष समेत विनियोजन हुन थालेको छ ।
अझ यो बर्षदेखि भौतिक पुर्वाधार शिर्षकमा वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई पनि अलग्गै बजेट छुट्याउने सहमति भएको छ । वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले हिजो कार्यपालिकामा दिएको जानकारी अनुसार वडाअध्यक्षहरुलाई भौतिक पुर्वधार शिर्षकमा राखेको १० करोड बजेट बाँड्ने र कार्यपालिका सदस्यहरुलाई ४५ लाख बजेट छुट्याउने सहमति भएको खुलासा पनि गरेका थिए ।