धरान: जेनजी आन्दोलनको क्रममा अराजक समुहले तोडफोड र लुटपाट पछि मंगलबार राती धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगलागी हिजो (बिहिबार) साँझ नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको नगर प्रहरी, वारुण यन्त्रका अग्नी नियन्त्रकहरु निरन्तर लागिपरे पनि हिजो साँझ करिब ६ बजेतिर मात्र नियन्त्रणमा आउन सकेको हो । आगो नियन्त्रणमा लिन धरानको २ वटा दमकल प्रयोग भएको थियो भने बुधबार बराहक्षेत्र नगरपालिकाबाट एउटा दमकल आएको थियो । 

नगर प्रहरी प्रमुख मेघराज भण्डारीका अनुसार बिहिबार साँझ आगो पुर्णरुपमा नियन्त्रणमा आएको तर तातो रापको कारण सहजरुपमा भित्र प्रवेश गर्न सम्भव भएको थिएन । केही व्यक्ति फसेको भनेर परिवारजन सम्पर्कमा आएकोले आज खोजी कार्य गरिने उनले बताए । उनका अनुसार वडाका जनप्रतिनिधि र नेपाली सेनाको संयुक्त सुरक्षा फौजको समन्वयमा खोजी कार्य हुनेछ । आगलागीबाट भाटभटेनी पुर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ । 

meghraj city police copy

सोमबार जेनजीको आन्दोलन धरानमा शान्तिपुर्ण भएको थियो भने मंगलबार पनि दिउँसोसम्म शान्तिपुर्ण भएको थियो । जेनजी अगुवाहरुले आन्दोलन सकेपछि भने अराजक समुहले धरानका पुर्वजनप्रतिनिधि र राजनीतिक दलका नेताहरुको घरमा आक्रमण, लुटपाट र आगजनी गर्नुका साथै भाटभटेनीमा पनि आगजनी गरेको थियो । उक्त समुह वडा नं १७ का अध्यक्ष मनोज भट्टराई र पुर्वमेयर तिलक राईको घरमा पनि तोडफोड गर्न पुगेपछि स्थानीय र युवाहरु मिलेर लखेटेका थिए ।

कानुनी कारबाही हुनुपर्छ: उद्योग वाणिज्य अध्यक्ष

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले धरानको व्यवसायिक प्रतिष्ठा र धरोहरकोरुपमा रहेको भाटभटेनीसहित पुर्वजनप्रतिनिधि र नेताहरुको घरमा लुटपाट, आगजनी गर्नेहरुलाई कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।

gopal sth copy

पत्रकारहरुसँग बिहिबार साँझ कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले सबै ठाउँमा लुटपाट गर्ने उद्देश्यले नै लुटेराहरुको समुहले घटना गराएको पनि बताए । उनले आन्दोलनको नाममा लुटेराहरुले नेताहरुको घरमा पुगेर शुरुमा नै दराज तोडफोड गर्ने र पैसा, गरगहना खोज्ने गरेको स्थलगत अनुगमनको क्रममा पाइएको पनि बताए । ‘यो कार्य लुटपाट गर्ने उद्देश्यले नै गरेको देखिन्छ, छानबिन गरेर कडा कारबाही हुनुपर्छ’उनले भने ।

अध्यक्ष श्रेष्ठले भाटभटेनीले धेरैलाई रोजगारी दिएको र धरानको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण भुमिका खेलेको पनि बताए । आगजनीले धेरै ठुलो नोक्सानी भएको उल्लेख गर्दै उनले पुनः भाटभटेनीलाई स्थापित गर्न संघको तर्फबाट समन्वय र सहयोग हुने पनि बताए । ‘भाटभटेनी फेरि सञ्चालनमा आउछ भन्नेमा विश्वस्त छुँ, यसको लागि सहयोग र समन्वय गछौं,’उनले भने ।

भिडियो: