धरान: नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले जेन्जी आन्दोलनको क्रममा धरान १४ स्थित पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी अध्यक्ष उद्धवबहादुर लिम्बुले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनामा मनुराज राई, दिपचन्द्र राई (कान्छि) र मिलन वान्तवा राईको प्रत्यक्ष संलग्नता भएको देखिएको पनि खुलाएका छन् । भ्रष्टचार र सुशासनको मागसहित शान्तिपुर्ण आन्दोलनमा घुसपैठ गरी सार्वजनिक तथा व्यक्तिको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माओवादी केन्द्रले माग गरेको छ । 

‘लोकतान्त्रिक अधिकारको प्रयोगको नाममा हिंसात्मक कार्य, सार्वजनिक सम्पत्ति नष्ट तथा लुटपाट गर्ने गतिविधि र पार्टी कार्यालयमाथि आक्रमण गर्नु कदापि स्वीकार्य छैन,’ प्रेस विज्ञप्तीमा भनिएको छ,‘यस्ता कार्यहरुले लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक सद्भावमा गम्भीर आघात पुर्याउने भएकोले दोषीहरुमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन अपरिहार्य छ ।’

mao party copy

भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल बन्देजविरुद्ध जेन्जी आन्दोलन धरानमा पनि पहिलो दिन शान्तिपुर्णरुपमा सम्पन्न भएको थियो । दोस्रो दिन भदौ २४ गते भने आन्दोलन समापन भइसकेपछि केही अराजक समुहले पार्टी कार्यालयहरुमा आगजनी गरेको थियो । यस्तै, पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजंघा, पुर्वउपमेयर मञ्जु भण्डारी, कार्यपालिका सदस्य सृर्जना नेपाल, पुर्वसांसद जयकुमार राई, कांग्रेस नेताद्धय उमेश थापा र सुजेन्द्र तामाङको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो । यस्तै, धरान १० पुतलीलाइनस्थित भाटभटेनीमा पनि आगजनी, लुटपाट भएको थियो । उक्त अपराधिक कार्यमा संलग्नहरुको पहिचान खुल्दै गएपछि कानुनी कारबाहीको दायरामा ल्याउन चौतर्फी माग उठिरहेको छ । 

maoist copy