धरान: धरान उपमहानगरपालिकाको बजेट आउने निश्चित भएको छ ।
आज (बिहिबार) बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेको छ भने शनिबार (असोज ४ गते) बिहान ८ बजे उपमहानगरपालिका परिसारमा नै नगरसभा गर्ने निर्णय गरेको छ । यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योलपुर्ण बनेको थियो ।
कानुनीरुपमा असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानमा भने असोज महिना लागिसक्दासमेत बजेट आउन सकेको छैन । बजेट नआउदा कर्मचारीहरुले साउन र भदौ महिनाको तलब पाउन सकेको छैन भने नगरको आर्थिक गतिविधिहरु ठप्प बनेको छ ।
जेनजी सहिदहरुप्रति शोक प्रस्ताव पारित
कार्यपालिका बैठकले भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति सम्मान प्रकट गर्दे शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघाले धरानमा पनि कार्यपालिका सदस्य सृर्जना नेपालसहित पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कांग्रेस नेताद्धय उमेश थापा, सुजेन्द्र तामाङको घरमा तोडफोड, लुटपाट भएकोमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने प्रस्ताव पास गर्न आग्रह गरेका थिए ।
उनले बैठकमा भने, ‘यस्ता अपराधिक क्रियाकलाप गर्नेहरुलाई कसैले जोगाउने कुरा हुदैन । नगर कार्यपालिकाले निर्ममढंगले कानुनी कारबाहीको दायरामा ल्याउने प्रस्ताप नै पास गरेर जान आग्रह गर्दछुँ ।’
शहिदका दुई छोरालाई पाँच लाखको शैक्षिक कोष
कार्यपालिका बैठकले जेन जी आन्दोलनमा शहिद भएका धरान वडा नं ५ निवासी साजन मेवाहाङ राईका दुई छोरालाई ५ लाख रुपैयाको शैक्षिक कोष खडा गरिदिने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगद दिने भन्दा पनि छोराहरुको शिक्षाको लागि बैठकमा पैसा जम्मा गरेर कोष खडा गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
स्वर्गीय राईको भक्तपुरमा आन्दोलनको क्रममा गोली लागेर निधन भएको थियो । दुई बर्षअघि नै श्रीमतिको निधन भएपछि राई १३ र ६ बर्षीय दुई छोराको साथमा काठमाण्डौंमा बस्दै आएका थिए । उनका छोराहरु अहिले धरान ५ आँपटार चौरस्थित दाजुको घरमा छन् ।
सोही बैठकले नगर कार्यपालिका सदस्य सृर्जना नेपालको घरमा पनि लुटपाट र तोडफोड भएकोले आर्थिक सहयोग गर्नुपर्ने बिषय प्रवेश गरेको थियो । तर, उक्त बैठकमा उनी अनुपस्थित भएकोले आवश्यक सल्लाह गरेर मात्र निर्णय गर्ने सहमति भएको थियो ।
भिडियो:
भिडियो: