धरान: नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष किसोर प्रधानले राजनैतिक बिसंगति, भ्रष्टचार मौलाएकै कारण जेनजी विद्रोह भएको बताएका छन्।

धरान विचार मञ्चद्धारा आइतबार आयोजित जेन जी आन्दोलनको असर, परिणाम र मुलुकको भविष्य बिषयक कार्यक्रमा प्रधानले यस्तो बताएका हुन् । उनले मुलुकको वर्तमान परिणाम आउनुको मुख्य कारण नै राजनैतिक दल र कर्मचारीतन्त्रमा मौलाएको व्यापक भ्रष्टचार भएको पनि बताए । ‘जेन जी बिद्रोह हुनुमा राजनीतिक दलका गल्तीहरुको परिणाम हो,’ उनले भने । सुशासनको अपेक्षा गरेका जनताले वडा कार्यालयदेखि विभिन्न सरकारी निकायमा घुस खुवाउन बाध्य भएको र त्यसले जेन जी बिद्रोह जन्माउने आधार तयार गरेको उनको भनाई थियो । 

प्रधानले २०४७ सालदेखि नै सरकारमा विचौलियाको केही गतिविधि शुरु भएपनि २०६३ सालपछि भने प्रधानमन्त्री, मन्त्रीहरुमा विचौलियाको प्रभाव फष्टाएको जिकिर गरे । ‘मन्त्री, प्रधानमन्त्रीलाई चिनेको छ, के काम गरिदिनुपर्नेछ भनेर व्यवासायीलाई भन्ने । व्यावसायीहरुले पनि आफ्नो काम गराउनै पर्यो,’ उनले भने, ‘यो खेल २०४७ देखि अलिअलि थियो, २०६३ पछि व्यापक भयो । प्रधानमन्त्रीसँग व्यपारीको पैसाको लेनदेन हुनथालेपछि देश कहाँ गयो ? त्यो श्रृंखलामा उदाहरण दिने क्षमता मसँग छ । तब आउछ विद्रोह ।’ 

प्रधानले हिजोका दिनमा केही नहुने र चप्पल लगाएर हिड्ने नेताहरु अर्बपति जस्तो देखिने गरि हिड्न थालेपछि जेन जी बिद्रोह भएको बताए । उद्योगी, व्यवसायीहरु धेरै शोषणमा परेको भन्दै उनले निर्वाचनको बेला पार्टीहरुलाई पैसा दिने गरेपनि शान्तिपुर्वक व्यापार गर्ने वातावरण कहिल्यै पनि नबनेको बताए । 

कार्यक्रममा कोशी प्रदेश सांसद रमेशकुमार बस्नेत, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ सभापति सुजेन्द्र तामाङ, गौरीशंकर अग्रवाल, अशोकुमार साह र आयोजक मञ्चका अध्यक्ष आनन्द आचार्यले पनि बोलेका थिए । 

भिडियो: