धरान: भूपू लाहुरेहरुको एकताको नमुना र पुर्खाहरुको इतिहास झल्काउने गोर्खा चौतारीको उद्घाटन गरिएको छ । 

धरान वडा नं २० स्थित श्रम सँस्कृति पार्क हाताभित्र निर्माण सम्पन्न भएको गोर्खा चौतारीको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन भएको हो । नगर प्रमुख मेयर हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा रिबन काटेर चौतारीको मुख्य संरचनाको उद्घाटन गरेका थिए । यस्तै, अन्य विभिन्न संरचनाहरुको पनि दाताहरुबाट नै उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख साम्पाङले धरानको विकासमा भूपू लाहुरे र परिवारको ठुलो योगदान रहेको चर्चा गरे । उनले धरानको आगामी प्रमुख पनि भूपूलाहुरे समुदायबाट नै बनाउनुपर्ने धारणा पनि राखे । धरानलाई मृत सहर भएको चर्चा हुने गरेको भन्दै नगर प्रमुख साम्पाङले डेड सिटी नभै लिडिङ सिटी भएको जिकिर गरे । उनले अब राजनीतिमा पनि धरानले नेतृत्व गर्नुपर्ने र यसको लागि आफुले पार्टी खोलेर अघि बढेको पनि बताए ।

भिडियो: यस्तै, उपप्रमुख बेघाले धरान दिनेहरुको र योगदान गर्नेहरुको सहर भएको भन्दै भूपू लाहुरेहरुले विभिन्न संरचनाहरु निर्माण गरेर दिइरहेको भन्दै प्रशंसा गरे । उनले गोर्खा चौतारी सामान्य पार्क नभएर गोर्खा सैनिकहरुको इतिहासलाई जोडेर बनाएको महत्वपुर्ण संरचना भएको पनि बताए । तीन वटा भूपूसैनिकहरुले मिलेर पहिलो पटक ऐतिहासक काम गरेको र धरान भाग्यमानी सहर भएको उनको भनाई थियो । गाली गरेर नभै माया, प्रेम र सद्भाव बाँडेर धरान बनाउन पनि उनले आह्वान गरेका थिए ।

गोर्खा चौतारी बेलायती सेना, भारतीय सेना र सिंगापर पुलिस फोर्सबाट रिटायर्ड भएका भूपू सैनिक एवं परिवारहरुले निर्माण गरिदिएका हुन् । चौतारीभित्र भिसि स्मारकसहितको मुख्य संरचना छन् भने महिला सम्मान चौतारी, नम्बरी हट, लाबुङ भ्यु पोइन्ट, केदेम चौतारी, ओपि पोष्ट, सिताङ ब्रिजलगायत संरचनाहरु छन् । यस्तै, गोर्खा पथ (बाटो), रेलिङ, गार्डेनका साथै मेटल र कंक्रिटको बेञ्चहरु पनि निर्माण गरिएको छ । समारोह कार्यक्रम गोर्खा चौतारी निर्माण समितिका संयोजक पुर्ण लिम्बुको अध्यक्षतामा भएको थियो । 

२ करोड ९१ लाख ५८ हजार खर्च

गोर्खा चौतारी निर्माणमा गर्न कुल ३ करोड ३ लाख १५ हजार ९३८ रुपैया संकलन भएको थियो भने कुल खर्च २ करोड ९१ लाख ५८ हजार १४ रुपैया भएको निर्माण सहसंयोजक एवं कोषाध्यक्ष पुनेन्द्र प्रसाद लिम्बुले जानकारी दिए । उनका अनुसार हाल ११ लाख ५७ हजार ९२४ रुपैया गोर्खा चौतारी निर्माण समितिको बचत रहेको छ । 

भिडियो:

उनका अनुसार गोर्खा चौतारीको मुख्य संरचना निर्माण गर्न ६६० जना ब्रिटिश भूपू दाताहरुबाट १ करोड ३३ लाख ४६ हजार ९०९ रुपैया संकलन भएको थियो भने २९८ जना भारतीय भूपू सैनिकहरुबाट ४१ लाख ८३ हजार २०६ रुपैया र ३२१ जना भूपू सिंगापुरहरुबाट ४६ लाख ५० हजार ८५५ रुपैया संकलन भएको थियो । ‘मुख्य गोर्खा चौतारीको लागि वृटिश, भारतीय र सिंगापुर दाताहरुबाट कुल २ करोड २१ लाख ८० हजार ९७० रुपैया संकलन भएको थियो,’ उनले भने ।

यस्तै, महिला सम्मान चौतारीमा ब्रिटिश, भारतीय र सिंगापुरबाट गरि कुल २५ लाख १२ हजार ७१८ रुपैया संकलन भएको पनि कोषाध्यक्ष लिम्बुले जानकारी दिए। यसैगरि, नम्बरी हट बनाउन ब्रिटिश आर्मीका इन्टेक १/८० समुहबाट १६ लाख २७ हजार ७१८ रुपैया पनि संकलन भएको उनले खुलाए । 

गोर्खा चौतारी संरक्षण समिति गठन 

भूपू लाहुरेहरुले निर्माण गरेको गोर्खा चौतारी नगरलाई हस्तान्तरण गरिए पनि संरक्षणको लागि एक समिति पनि गठन गरिएको छ । समितिको संयोजक पुर्णप्रसाद लिम्बु, उपाध्यक्षमा हर्कराज राई र भैरवकुमार राई रहेका छन् । 

भिडियो:

यसैगरि, सदस्य सचिवमा कर्णबहादुर गुरुङ, सहसचिवमा दिपेन्द्रकुमार राई, कोषाध्यक्षमा पुनेन्द्रप्रसाद लिम्बु र सहकोषाध्यक्षमा मानसिंह तामाङ रहेका छन् । यसैगरि, सदस्यहरुमा गोपाल राई, प्रदिपकुमार राई, विनोदकुमार तामाङ, खेमचन्द्र राई, धनबोल राई र राजेन्द्रकुमार राई रहेका छन् । 

गोर्खा चौतारी निर्माण समिति र उपमहानगरपालिकाबीच भएको सर्तमा रहेर समिति सठन र सञ्चालन हुने बताइएको छ । गोर्खा चौतारीको स्थापना दिवस २०८२ कार्तिक २१ गते मानिने, श्रम दिन महिनाको आखिरी शनिबार गरिने सम्झौता रहेको छ । यस्तै, गोर्खा चौतारीले बर्षमा कुनै पनि कार्यक्रम गर्न सक्ने र कसैले कार्यक्रम गर्नचाहेमा संरक्षण समितिको अनुमति लिएर सरसफाई गरि बुझाउनुपर्ने पनि उल्लेख छ ।

यसैगरि, गोर्खा चौतारीमा छुट्टै हेरालु राख्नसक्ने र तलव उपमहानगरपालिकाबाट हुने, चौतारीको सम्पुर्ण टुटफुट भएमा मर्मत गर्ने, रंगरोगन गर्ने कार्य उपमहानगरपालिकाबाट अनुमति लिई संरक्षण समितिले गर्न सक्नेछ र खर्च उपमहानगरको जिम्मेवारी रहने पनि सम्झौतामा उल्लेख छ । 

gorkha chautari13

gorkha chautari6

gorkha chautari4

gorkha chautari7

gorkha chautari3

gorkha chautari5

gorkha chautari15

gorkha chautari16

gorkha chautari14