धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजीपी रनिङ फुटबल प्रतियोगितामा धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल फाइनल प्रवेश गरेको छ ।
धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आज (बिहिवार) सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई पराजित गर्दै प्रभात उपाधी नजिक पुगेको हो । खेलमा प्रभातले ४-० को एकपक्षीय जित हात पार्यो ।
जितसङ्गै प्रभातले फाइनलमा उपाधिको लागि आयोजक नेपाल पुलिस स्कुल (रातो) सङ्ग भेट पक्का गरेको हो । आयोजक रातोले बुधबार सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुल सुन्दर हरैचालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
खेलमा प्रभातका जर्सी नम्बर १९ का भुवन भण्डारीले पहिलो हाफको ७ मिनेटमै गोल गर्दै खाता खोलेका थिए । यस्तै, जर्सी नम्बर १० का कप्तान नेम्साङ मगरले २० र २९ औं मिनेटमा पेनाल्टी मार्फत १/१ गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको २२ मिनेटमा जर्सी नम्बर १० का भुवन भण्डारीले पुनः एक गोल गरेर ४-० को नतिजाले प्रभातले जित हासिल गर्यो ।
खेलको म्यान अफ दि म्याच प्रभात स्कुलका कप्तान नेम्साङ मगर घोषित हुँदै नगद १ हजार ५ र मेडल हात पारे । उनलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी पुरस्कर प्रदान गरेका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए ।







