धरान: याक्थुङ कला, सँस्कृतिको सम्बद्र्धन एवं प्रर्वद्धन गर्ने उद्देश्यले दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनल २०८२ यही माघ २४ गते शनिबार धरानमा हुने भएको छ । 

याक्थुङ चलचित्रकर्मी संघले सोमबार धरान १२ स्थित होटल शिखामा पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो । दोस्रो सँस्करण इन्टरनेशनल हुने साथै चलचित्र, लघु चलचित्रको साथमा लिम्बु पालाम र म्युजिक भिडियोहरु पनि समावेश गरिने अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए । 

याक्थुङ सँस्कृति, कला र त्यसक्षेत्रको सौन्दर्यतालाई चलचित्रको माध्यमबाट संसारभर चिनाउन याक्थुङ चलचित्रकर्मीहरु संघमा आवद्ध भएका छन् । सोही संघले गत बर्ष पहिलो याक्थुङ सिने अवार्ड आयोजना गरेको थियो । अध्यक्ष मेन्याङ्बोका अनुसार यो बर्षदेखि अवार्डलाई इन्टरनेशनल बनाइएको र नेपालबाट मात्र नभै संसारको जहीबाट भएपनि अवार्डमा सहभागी हुनसक्नेछन् । ‘यो बर्ष पालम र म्युजिक भिडियो पनि समावेश गरिएको छ,’ उनले भने ।

अध्यक्ष मेन्याङ्बोका अनुसार १८ वटा विधामा अवार्ड प्रदान गरिनेछ । चलचित्रतर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री र सर्वोत्कृष्ट लेखकको अवार्ड प्रदान गरिनेछ । 

लघु चलचित्रमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइनेछ । याक्थुङ गीततर्फ उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट गायक, उत्कृष्ट गायिक र उत्कृष्ट मोडलको अवार्ड दिइनेछ । पालमतर्फ उत्कृष्ट पालम भिडियो, उत्कृष्ट गायक, उत्कृष्ट गायिका र उत्कृष्ट मोडलको अवार्ड दिइने अध्यक्ष मेन्याङ्बोले जानकारी दिए । 

yakthung

चलचित्रतर्फ ८ वटा मनोनयन भएर प्रतिस्पर्धामा रहेको पनि अध्यक्ष मेन्याङ्बोले बताए । उनका अनुसार मिम्जिफुङ। सेमिफुङ, नुमा हाङ्मा, साम्देङमा, भिम्लेनफुङ, नाम ओती, रित र थिम चलचित्र मनोनयन भएको छ । यस्तै, लघु चलचित्रतर्फ तङ्सिङ र आङगा मनोनयन भएको छ भने याक्थुङ गीत म्युजिक भिडियोतर्फ सिराप धाम, मयेङसा ऐरमा र मिम्जि ए मनोनयन भएको छ । 

साथै, याक्थुङ पालाम म्युजिक भिडियोमा ताप्लेजुङे थाङवेन्हा, इनिआः वारो, मुकुम्फुङ, ताम्वुङचा, तेरआः वेले, सेम्मुई ताः जेङ, आन्छेन्वा मिमजिङ, बरुम्हाङ, माम्जाबुङ्गे तरेवेन, फुङसरि साङसाङ, फक्ताक्लुङ, मुकुम्लुङ, खाम्बेक फुङ र मिम्जिरेङ सेप्माङ मनोनयनमा परेको आयोजक संघले जानकारी दिएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने अवार्ड वितरण समारोहमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली प्रमुख अतिथि रहनेछन् । अवार्डमा प्रतिस्पर्धा हुने चलचित्रहरु लिम्बू भाषामै बनेको हुनुपर्छ भन्ने नभए पनि लिम्बू (याक्थुङ) सँस्कृति, जीवनशैली, विश्वास, पद्दती एवं सँस्कारमा आधारित हुनुपर्ने अध्यक्ष मेन्याङ्बोले बताए ।

अवार्डको निर्णयको लागि समिति गठन गरिएपनि प्रतिस्पर्धामा रहेकाहरुले प्रभावित पार्न नसकुन् भनेर नाम गोप्य नै राखिएको पनि उनले खुलाए । ‘निर्णायकहरुलाई नै पनि को को छन् भनेर थाह दिइएको छैन,’ उनले भने । अवार्ड वितरण समारोहमा वरिष्ठ निर्देशक नविन सुब्बा, वरिष्ठ कलाकार प्रेम सुब्बा, परीक्षा लिम्बु, यासेली योङहाङलगायत सहभागी हुने आयोजक संघले जनाएको छ ।