धरान: २६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप बुधबारदेखि शुरु भएको छ ।
धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ । धरानले पाहुना टोली जर्जियन फुटबल क्लब कालिम्पोङलाई टाइब्रेकरमा स्तब्ध बनाउदै विजयी भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुगिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
निर्धारित समयको खेलमा पहिलो हाफको नवौं मिनेटमा जर्जियनले अग्रता लिएको थियो । हेमराज भुजेलले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । तर, १९ औं मिनेटमा धरानका तपन कार्कीले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसरहरु खेर फालेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा धरानका विवेक राई, सविन राई, प्रज्वल थापा र नगेन राईको प्रहार गोलमा परिणत भएको थियो । जर्जियनबाट भने सरद मुण्डा र साइजाको प्रहार मात्र गोलमा परिणत भयो । बक्सर प्रधानको प्रहार आकासियो भने विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपरले रोकेपछि पहुना टोली पहिलो खेलबाट नै घर फर्कियो । खेलको म्यान अफ दि म्याच धरानका विपुल मगर घोषित हुदै नगद १० हजार हात पारे । प्रतियोगितामा बिहिबार रोयल थिम्पु भुटान र झापा ११ बीच हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।
प्रतियोगितालाई सहयोग गर्ने प्रतिवद्धता

धरान उपमहानगरपालिकाले बुढासुब्बा गोल्डकपलाई निरन्तरता दिलाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

बेघाले खेलकुदको विकासमा स्थानीय सरकारले आफ्नो क्षमता अनुसार ध्यान दिने बताएका थिए । उनले भिआइपी प्याराफिटलाई पुर्णता दिलाउन चालु आर्थिक बर्षमा बजेट विनियोजना गरेपनि पर्याप्त हुन नसकेको भन्दै आगामी बर्षहरुमा थप सहयोग गर्ने पनि बताए । एन्फा प्रदेश अध्यक्ष किसोर राईले इतिहास बोकेको प्रतियोगितालाई र खेलकुदको संरचनाहरुलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
अटिज्म बालबालिका खेलाडीसँगै मैदानमा

बुढासुब्बा गोल्डकपको २६ औं सँस्करणको उद्घाटन समारोह खेलाडी र खेलप्रेमहरुको लागि मात्र होइन, अटिज्म बालबालिकाहरुको लागि पनि बिशेष रह्यो । अटिज्मबारे जनचेतना जगाउने उद्देश्यले अटिज्म बालबालिकाहरुलाई साथमा लिएर खेलाडीहरु मैदान प्रवेश गरेका थिए ।
धरान र जर्जियन क्लब कालिम्पोङका खेलाडीहरुसँग ११/११ जना बालबालिकाहरु मैदान प्रवेश गरेका थिए । बिशेष विद्यालयकी सञ्चालिका सर्जु थापा देवानले यस्नतो भव्य समारोहमा पहिलो पटक अटिज्मका बालबालिकाहरु सहभागी भएको भन्दै खुशी व्यक्त गरिन् । ‘धरानले हाम्रो बालबालिकाहरुलाई स्वीकार गर्यो, आयोजकलाई धेरै धेरै धन्यवाद,’ उनले भनिन्,‘यति भव्य समारोहमा पहिलो पटक सहभागी भएको हो । यस्तोमा उनीहरु आउन डराउछन्, धेरै सम्झाएपछि ल्यायौं, उनीहरु पनि खुशी भए ।’
भिडियो:







