धरान: बिहिबार साँझ धरान भेडेटार सडक खण्डमा अवस्थित धरान भ्यु पोइन्ट होटलमा बक्सिङ खेलाडीहरु भेला भएका थिए । 

केहीबेरमा खेलाडीहरु आमनेसामने मात्र भएनन्, एकअर्कालाई च्यालेञ्ज गरे, र हात हालाहालको तनावपुर्ण स्थिति पनि बन्यो । खासमा धरान १५ स्थित चुम्लुङ हिममा शुक्रबार साँझ हुन लागेको एक्स्ट्रीम दोस्रो फाइट नाइटको पुर्वसन्ध्यामा खेलाडीहरुको फेस अफ कार्यक्रम राखिएको थियो । सोही कार्यक्रममा प्रतिस्पर्धी खेलाडीहरु आमनेसामने हुँदा यस्तो दृष्य सृर्जना भएको हो । 

boxing

बक्सिङमा मुख्य प्रतियोगिताअघि फेस अफ हुँदा खेलाडीहरुले एकले अर्कालाई च्यालेञ्ज गर्नु र मुक्का हानाहान गर्नुलाई स्वभाविक मानिन्छ । उनीहरुको मुख्य भिडन्त भने रिङमा नै हुने गर्छ । धरान बक्सिङको आयोजनामा फाइट नाइटको दोस्रो सँस्करण शुक्रबार आयोजना हुदैछ । उक्त प्रतियोगितामा २ महिला प्रो.सहित कुल १८ खेलाडीहरु सहभागी हुने आयोजक धरान बक्सिङले जानकारी दिएको छ । ती मध्ये ८ जना प्रो र १० एमेच्योर छन् ।

बिहिबार साँझ फेस अफमा प्रो.तर्फ ६३.५ केजीमा धरान बक्सिङका अनिश भुजेल र हेटौडाका सोहन राई, ८० केजीमा काठमाण्डौंका मनोज तामाङ र नेपाल पुलिसका प्रदिप पाकी, ५७ केजीमा धरानका सिंहबहादुर लिम्बू र एपिएफका प्रदिप महर्जन आमनेसामने भएका थिए । 

भिडियो:

महिला प्रो.तर्फ काठमाण्डौंकी रमिशा श्रेष्ठ र एपिएफकी नाङ्जा बुढा मगरले एकले अर्कालाई रिङमा हराउने भन्दै च्यालेञ्ज गरे । धरानमा पहिलो पटक राष्ट्रियस्तरको आइबिए प्रो एण्ड एमेच्योर महिला पुरुष फाइट नाइट हुन लागेको हो । गत बर्ष पहिलो सँस्करणमा पुरुष खेलाडीहरु मात्र सहभागी थिए । 

प्रतियोगितामा प्रो.फाइटतर्फ प्रत्येक तौलमा विजेता खेलाडीले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । एमेच्योरतर्फ विजेताले १० हजार, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ५ हजार, प्रमाणपत्र प्राप्त गर्नेछन् । 

boxing3

boxing2

boxing4

boxing5