धरान: १४ औं नेवा च्यारिटी धरान १० के रनको खुला स्पर्धामा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् । 

शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा रावतले ३१ मिनेट ५० सेकेन्डमा दुरी पुरा गरेर प्रथम भएका हुन् भने महिलातर्फ प्रथम भएकी श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरिन् । महिला विजेता श्रेष्ठ नेपालकी चर्चित एवं अन्तर्राष्ट्रिय पदक विजेता धविका हुन् । 

यसैगरि, पुरुषतर्फ केन्याका जुलियस मुरुकि वाहोमले ३१ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने अमिर लिम्बुले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् । महिलातर्फ पुष्पा शेर्मा ४१ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुँदा प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् । 

dharan 10k run1

महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजारका साथै मेडल, ट्रफि पुरस्कार हात पारे । विजेताहरुलाई धरानका कार्यावाहक प्रमुख आईन्द्र विक्रम बेघा, धरान वडा १८ को वडाध्यक्ष प्रविण राई, चर्चित गायक राजु लामाले पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगितामा अण्डर १६ उमेर समुहमा पुरुषतर्फ जिवन हाङ प्रथम, ओसन राई दोस्रो र हिमाल राई तेस्रो भएका छन् भने महिलातर्फ जुही राई प्रथम, जुलि राई दोस्रो र सिम्रन बर्देवा तेस्रो भइन् । 

dharan 10k run

यसैगरि, भेट्रान पुरुषतर्फ सुदिप प्रधान प्रथम, विजय कुमार राई दोस्रो र रेशम लिम्बु तेस्रो हुँदा भेट्रान महिलातर्फ प्रतिमा राई प्रथम, जमुना लिम्बु दोस्रो र कल्पना तामाङ तेस्रो भइन् । 

प्रथम, दोस्रो र तेस्रो विजेताहरूलाई नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । नेपालको सर्वाधिक सहभागी हुने दौडमध्येकै एक धरान १० के रनमा यसपाली ३५ सय बढीको सहभागिता रहेको आयोजक धरान रनले जनाएको छ ।