धरान: चौधरी ग्रुप अन्तर्गत सिजी मोटर्सको ईभी गाडीको शोरुम धरानमा उद्घाटन गरिएको छ ।
कार्यबिनायक ट्रेडिङले शुक्रबारबाट औपचारिक रूपमा बिक्री वितरण सुरु गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले एक समारोहबीच शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले कोशी राजमार्ग क्षेत्रमा विद्युतीय सवारीको सङ्ख्या बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको बताए ।
दुर्घटनाको जोखिम न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीसङ्ग सहजिकरण गरेर टाइम कार्ड प्रणाली व्यवस्था गरेपछि दुर्घटना करिब ८० प्रतिशतले घटेको उनले बताए । डिजल पेट्रोल गाडी कुदाई रहेका चालकहरु ईलेक्ट्रिकल गाडी कुदाउदा प्राविधिक ज्ञान नहुदा पनि दुर्घटना बढेको उनले बताए ।
'व्यवसायले बिक्रि गरेर फाईदा मात्रै लिने होईन चालकहरुलाई प्रशिक्षित गरेर दुर्घटना न्युनिकरण गरेर धनजनलाई जोगाउनु पनि पर्छ,'श्रेष्ठले भने । सुरक्षित यात्राका लागि ब्याट्री चार्ज ८० प्रतिशत सम्म र २० प्रतिशत कममा गाडि कुदाउन नहुने पनि श्रेष्ठले बताए ।
कार्यक्रममा ईभि गाडिको विशेषता बताउदै सिजि कम्पनीका प्रतिनिधि शिशिर सुवेदीले ईभी गाडीले प्रदुषण घटाउनमा महत्त्वपूर्ण भुमिका खेल्ने र ईन्धनमा लागत कम हुने उल्लेख गरे । 'कम्पनीले ब्याट्रीमा वारन्टि दिन्छ । ब्याट्री कसरी चार्ज गर्ने, गाडि कसरी चलाउने भन्ने बारेमा सर्भिसको बेला परामर्श पनि गरिन्छ,' उनले भने,'अहिलेसम्म २५० स्थानमा ४८१ वटा चार्जिङ प्वईन्ट राखिएको छ ।'
कार्यबिनायक ट्रेडिङ शोरुम मार्फत पहाडि क्षेत्रको यात्रालाई मध्यनजर गर्दै १४ सिटेदेखि १६ सिटेसम्मको सिजिको ईभी माईक्रो गाडीहरू बिक्री, चार्जिङ स्टेसन तथा उपभोक्ता परामर्श उपलब्ध गराइने ट्रेडिङका सञ्चालक शाहिल श्रेष्ठले बताए ।







