धरान: खाना पकाउने ग्याँस सिलिण्डर चरम अभाव देखापरेपछि धरान उपमहानगरपालिकाले नियमितरुपमा अनुगमन गरिरहेको छ ।
विभिन्न ग्याँस कम्पनीहरुले कुन ठाउँमा कति ग्याँस जादैछ भनेर तथ्यांक पनि स्थानीय सरकारहरुलाई पठाइरहेका छन् । तरपनि ग्याँस आउदा उपभोक्ताहरु घण्टौं उभिनुपर्ने बाध्यता अझै हटेको छैन । आज शनिबार सार्वजनिक विदाको दिन पनि बिहान उपमहानगरपालिका, इलाका प्रशासन र प्रहरीको टोलीले धरानको केही ग्याँस डिलरहरुको अनुगमन गरेको थियो ।
त्यसक्रममा धरान वडा नं १५ स्थित एभरेष्टलाइनमा प्रिमा डिपो पोइन्ट राखेर अनधिकृतरुपमा बिक्री गरेको भेटिएको थियो । अनुगमन टोलीले इजाजत नलिई एवं कुनै निकायमा दर्ता नगरि ग्याँस बिक्री गर्ने एनएस गिरीलाई ३ दिनभित्र लिखित जवाफ पेश गर्न र ग्याँस सिलिण्डरहरु सबै तत्काल मुख्य डिलरलाई फिर्ता गर्न निर्देशन दिएको छ । गिरीले डिलरले १० वटा सिलिण्डर आफुलाई बिक्री गर्न दिने गरेको जानकारी दिएका थिए ।

यसैगरि, उनलाई बिक्री गर्न दिने प्रिमा ग्याँसको धरान ११ कल्याण चोकस्थित मुख्य डिलरमा पनि पुगेर अनुगमन टोलीले आमउपभोक्ताबाहेक कुनै पनि किराना पसल तथा अनधिकृत व्यक्तिहरुलाई ग्याँस नदिन सचेत गराएको थियो । साथै सञ्चालकलाई पनि ३ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
एउटा परिवारलाई एउटा मात्र सिलिण्डर दिन सम्भव छैन !
अनुगमनको क्रममा केही कम्पनीका ग्याँसहरु नियमितरुपमा आइरहे पनि केही कम्पनीबाट हप्ता दिनदेखि ग्याँस नआइरहेको व्यापारीहरुले बताएका थिए । कम्पनीहरुले भारतबाट नै ग्याँसको बुलेटहरु नआएको भन्दै ग्याँस नियमित र पर्याप्त नपठाएको व्यापारीहरुको भनाई छ ।
ग्याँसको अभाव भएको हल्ला शुरु भएपछि उपभोक्ताहरुले धेरै वडा सिलिण्डर भण्डारण गर्ने गरेको कारण पनि समस्या भइरहेको बिक्रेता व्यापारीहरुको भनाई छ । अनुगमन टोलीले एक परिवारलाई एउटा मात्र सिलिण्डर दिन दिर्नेशन दिएपनि सम्भव नहुने बिक्रेताहरुको भनाई छ ।

‘एउटै परिवारबाट ४, ५ जना लाइनमा बसेका हुन्छन्, हामी सबैलाई त चिन्न सक्दैनौं नि को को एउटै परिवारको हो भनेर,’रिजाल र कामाख्यका आधिकारिक बिक्रेता गणेश जनरल सप्लायर्सका सञ्चालकले भने,‘एउटा परिवारलाई एउटा मात्र सिलिण्डर दिनसकिदैन । म र आमालाई कुट्न खोजे, पसल तोडफोड गर्न खोजे ।’
अनुगमन अधिकृत वेदप्रसाद सापकोटा पनि उपभोक्ताहरुले धेरै सिलिण्डर घरमा राख्ने गरेपछि यस्तो अवस्था आएको बताउँछन् । उनले ग्याँस डिलरहरुलाई एउटा परिवारमा एउटा सिलिण्डर मात्र बिक्री गर्न अनुरोध पनि गरेका छन् । बढी मुल्यमा बेच्ने गरेको कारण खुद्रा तथा किराना पसलहरुलाई नबेच्न पनि उनले ग्याँस बिक्रेताहरुलाई भेटेर अनुरोध गरिरहेका छन् । होटलहरुको हकमा भने मापदण्ड बनाउन आवश्यक देखिएको पनि उनले बताएका छन् ।
भिडियोः







