धरान: धरान ३ स्थित मणिसुन्दर टोलीको एउटा घरमा कौसी छ । त्यो घरको कौसी अन्य घरको भन्दा अलि फरक छ ।

धरानको माछाभौडी नजिकको त्यो घरका धनी हुन्, मोहन श्रेष्ठ । उनले घरको कौसीलाई अरुको जस्तो खाली रहन दिएका छैनन् । उनले कौसीमा हरियो अन्न, सागपात उब्जनी गरेका छन् । उनी पेशाले दुध व्यवसायी हुन् । तर, पछिल्लो समय उनको परिचय फेरिदै गएर कौसी खेती अभियन्ता भएको छ । उनले घरको कौसीमा खेती गरेर आफ्नो परिवारलाई पुग्ने अर्गानिक तरकारी उब्जाएका छन् । उनी भन्छन्,‘महंगीमा हामीले घरबाहिर गएर तरकारी किन्नु परेको छैन, कौसी खेतीबाट नै पर्याप्त छ ।’

श्रेष्ठले पाँच बर्षदेखि कौसी खेती शुरु गरेका हुन् । जग्गा जमिन नभए पनि घरको कौसीमा नै खेती गरेर तरकारी फलाउन सकिने उनी बताउँछन् । ‘खेतबारी छैन भनेर चिन्ता लिनुपर्दैन, आफ्नै घरको कौसीमा पनि खेती गरेर परिवारलाई पुग्ने तरकारी फलाउन सकिन्छ,’उनले भने । अहिले उनको कौसीमा अम्बक, कागती, गोलभेडा, सीमी, भेन्टा, खोर्सानी, रायोको साँग, करेला, काँक्रा, लौका, बोडी, सीमी, धनिया, गधे, लसुन, प्याज लगायत ५० भन्दा विभिन्न तरकारीजन्य बाली लगाइएको छ । श्रेष्ठको धरानको देशीलाईनमा उनको दुध विक्री कक्ष छ ।

kousi-kheti1

कौसी खेती शुरु गर्दाको प्रसंग पनि उनको रमाइलो छ । माछा राख्ने थर्मोकोलको बट्टा त्यतिकै खेर गएको थियो । त्यसलाई सदुपयोग गर्ने सोच उनमा पलायो । त्यसैलाई उपयोग गर्दै उनले कौसी खेती शुरु गरेका थिए । श्रेष्ठका अनुसार पछि धरान उपमहानगरपालिकबाट उनले ४ दिने कौसी खेतीको तालिम लिने अवसर पनि पाए । त्यो तालिमले उनलाई कौसी खेती गर्ने विधि र तरिका बारे राम्रो ज्ञान दिलाएको श्रेष्ठ बताउँछन् । अहिले त श्रेष्ठको घर कौसी खेतीको सिकाई थलो बनेको छ । विभिन्न ठाउँबाट उनको कौसी खेती हेर्न मानिसहरु आउछन् । ‘मानिसहरु मेरो कौसी खेती हेर्न आउछन्, र कसरी गर्ने हो भनेर सिकाइ माग्छन् । त्यसबेला मलाई खुशी र गर्व लाग्छ,’उनले भने ।

श्रेष्ठका अनुसार कौसी खेतीको लागि प्रसस्त घाम लाग्ने, सजिलै पानी दिन सक्ने ठाउँ हुनुपर्छ । घरलाई भार र असर नपर्ने गरी माछा राखेर ल्याएको थर्माकोलको क्यारेटहरु, रंगको बट्टाहरु प्रयोग गर्न सकिन्छ । स्थानीय माटो र प्राङ्गारिक मलको प्रयोग कौसी खेतीमा उनले गरेका छन् । परिवारले पनि उनलाई सहयोग गर्छन् । ‘धरानमा छत र कौसी भएको हजारौं घरहरु छन्, त्यसमा आधा जतिले मात्र कौसी खेती गर्दा अर्गानिक तरकारी खान पाउछन्,’श्रेष्ठ भन्छन्,‘त्यति मात्र होइन, धरानको हरियाली प्रर्वद्धन हुन्छ, र वातावरण पनि स्वच्छ हुन्छ ।’ कौसी खेतीका अभियन्ता श्रेष्ठ सामाजिक गतिविधिमा पनि सक्रिय छन् । उनी गौधारा टोल विकास संस्थाका अध्यक्ष हुन् भने द रेयूकाई नेपाल धरान शाखाको पूर्व अध्यक्ष पनि हुन् । यस्तै, नेवार एकता समाजका वरिष्ठ सदस्य छन् ।