लन्डन(बेलायत): आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ ।

सङ्गठनको संरचानामा केही हेरफेर गर्दै चौथो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । हालै फेल्थाममा आयोजित विधानसभामा उपस्थित केन्द्रीय समिति, शाखा समिति, विभागीय पदाधिकारी र सल्लाहकारहरूले पाँचौ संशोधनमार्फत् सङ्गठनको विधान सच्याएको अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले बताए । उनले भने,‘राष्ट्रिय परिषद बैठकले प्रस्ताव गरेको संशोधनका बुँदाहरूउपर विधान संशोधन भएको छ । अब हामीलगत्तै कार्यान्वयनमा लाग्नेछौँ ।’ चुम्लुङ यूकेको आगामी महाधिवेशन सेप्टेम्बर महिनामा हुने तय गरिएको छ ।

सङ्गठनको स्वरूपमा हेरफेर गर्दै सभाले राष्ट्रिय परिषद बैठकको प्रावधान हटाएर वार्षिक साधारणसभा मात्रै राख्ने निर्णय गरेको छ । यसैगरी, पदाधिकारी सङ्ख्या ११ कायम गर्ने निर्णय गरेको छ । जसअनुसार एक अध्यक्ष, चार उपाध्यक्ष, एक–एक महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने छन् । भेलाले सङ्गठनमा सबैलाई नेतृत्वको अवसर दिन कुनै पनि शाखा समितिमा कुनै पनि पदमा एक कार्यकाल गरेकालाई केन्द्रीय समितिमा उम्मेदवारी दिन सक्ने बाटो पनि खोलिदिएको छ । तर, अध्यक्ष र महासचिवजस्तो कार्यकारी पदमा भने उम्मेदवारी दिन केन्द्रीय समितिमा एक कार्यकाल बिताउनुपर्ने प्रावधान राखेको छ ।

chumlung

यसैगरी, नेपाल या अन्य देशका चुम्लुङमा नेतृत्वदायी भूमिका खेलिसकेका व्यक्तिहरूलाई पनि शाखाको सिफारिसमा चुम्लुङको सर्वोच्च नेतृत्वमा पुग्न मार्गप्रशस्त गरेको महासचिव गणेश इजमले बताए । उनीहरूको साङ्गठनिक अनुभवलाई उपयोग गर्न केन्द्रीय विभागीय जिम्मेवारी दिन सकिने उल्लेख गरे । विधानसभाले केन्द्रीय सदस्यको परिभाषा र जिम्मेवारी पनि प्रष्ट रूपमा उल्लेख गर्ने निर्णय गरेको छ । उनीहरूलाई आगामी महाधिवेशनमार्फत् विभागीय नेतृत्वको अभ्यास गराउने पनि बरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले जानकारी दिए । सभाले दश पाउन्ड शुल्क बुझाएपछि श्रीमान् श्रीमति दुवै साधारण सदस्य रहन सक्ने निर्णय पनि गरेको छ । उनीहरूले तोकिएको शुल्क तिरेर उम्मेदावरी दिन सक्ने पनि छन् । यस्तै, आजीवन सदस्य शुल्कका लागि २०० पाउन्ड कायम गरिएको छ । सन् २००३ अगष्ट २ तारिखका दिन बेलायतको सल्सबरीमा सम्पन्न भेलाले स्थापना गरेको चुम्लुङको संस्थापक सदस्यमा मोहन काङ्वालाई समेत उल्लेख गर्ने निर्णय गरेको उपाध्यक्ष विमला सेनेले बताइन् । 

यसैगरी, याक्थुङ चुम्लुङले प्रयोग गर्ने सिलाम साक्माको प्रतीकमा नौ धागाको फन्कोलाई मान्यता दिने निर्णय गरेको छ । चुम्लुङलाई साँस्कृतिक सम्पदाको प्रबद्र्धन अभियानमा सक्रिय बनाउन साँस्कृतिक विभाग गठन गर्ने समेत निर्णय गरेको छ । चुम्लुङ यूकेमा हाल आठ विभागीय प्रमुखहरू छन् । यसैगरी, थामेन्दिङमा महिला समिति र लासोगेन कुसा चुम्लुङ(युवा मञ्च) पनि गठन गरिएको सचिव विश्वसदीप तिगेलाले बताए । चुम्लुङ यूकेका हाल १५ शाखाहरू सक्रिय छन् । केन्ट मेडस्टोनको याल्डिङमा चुम्लुङ यूकेले २५.३३ एकडको चुम्लुङ देन(जग्गा) समेत खरिद गरिसकेको छ । यूकेमा याक्थुङहरूको सङ्ख्या २० हजार बढी रहेको अनुमान गरिएको छ ।