धरान: फोहर मैलाबाट ग्याँस र मल समेत उत्पादन गर्ने लक्ष्य लिएको फोहोर प्रशोधन केन्द्र अबको दुई सातापछि परीक्षण उत्पादन शुरु हुने भएको छ ।

धरान ६ पानबारीमा स्थापना भएको प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छ । प्लान्ट स्थापना भएर हाइड्रो टेस्टीङ भइसकेको छ भने बुधबारदेखि सफ्टवेयर लगाउने काम शुरु गरिने भेन्चर वेष्ट टु इनर्जी प्रालिका सञ्चालक एवं निर्देशक जेनिस श्रेष्ठले जानकारी दिए । ‘प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छौं, अबको दुई सातापछि परीक्षण सञ्चालन गछौं, र ग्याँस उत्पादन पनि गछौं,’उनले भने ।

प्रशोधन केन्द्र धरान उपमहानगरपालिका र प्रालिबीच धरानको फोहर मैला व्यवस्थापनको लागि सम्झौता भएर सञ्चालनमा आउन लागेको हो । प्रालिसँग स्वर्गीय मेयर तारा सुब्बाको पालामा नै सम्झौता भएको थियो । कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । सम्झौता अनुसार प्रालिले २० वर्ष पछि प्रशोधन केन्द्रको सम्पुर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

fohor

हालसम्म धरान नगरको फोहर संकलन गरेर चारकोसे जंगल नजिकै सेउती खोला किनारमा अस्थायी व्यवस्थापन गर्ने गरिएको छ । केन्द्र शु्रु भए पछि फोहर व्यवस्थापनमा भोग्नु परेको समस्याहरु, वाधा र विरोधलाई सजिलै समाधान गर्न सकिने धरानका मेयर तिलक राईले विश्वास व्यक्त गरे । धरानमा दैनिक करिव २२ मेट्रीक टन फोहर उत्पादन हुने अनुमान छ । प्रशोधन केन्द्रमा भने दैनिक ५० मेट्रीक टनसम्म फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता छ । यसले आगमी २५ वर्षसम्म बढ्दो शहरीकरण र जनसंख्या अनुरुप उत्पादन हुने फोहर मैला व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । धरानका समाजसेवी प्रभुप्रसाद श्रेष्ठले केन्द्र सञ्चालनमा आए पछि धरानको विकासमा ठुलो सहयोग पुर्याउने धारणा राखे । उनले परियोजना शुरु नभै अन्य नगरपालिकाहरुबाट पनि यस किसिमको प्लान्टको माग आएको बताए ।

कति हुन्छ ग्याँस उत्पादन ?

fohor-plant2

प्रालिका अनुसार धरानमा दैनिक २० देखि २२ टन फोहोर उत्पादन हुने अनुमान छ । त्यति फोहोर प्रशोधन गरेर दैनिक १२ सय देखि १५ सय किलो ग्याँस उत्पादन हुने अनुमान गरिएको प्रालिका सञ्चालक श्रेष्ठले बताए । फोहोरमैलाको मात्रा वृद्धि भएसँगै ग्याँसको उत्पादन पनि बढ्ने उनले बताए ।

ग्याँसबाट टेम्पो चलाउने योजना

फोहोरबाट उत्पादन भएको ग्याँसबाट धरानका टेम्पोहरु सञ्चालन गर्ने प्रालिको योजना छ । यसको लागि प्रालिले धरान ७, भोटेपुलमा पम्प पनि स्थापना गरिरहेको छ । अहिले पेट्रोलबाट चल्ने टेम्पोहरुलाई ग्याँसबाट चलाउने प्रालिको योजना हो ।
प्रालिका सञ्चालक श्रेष्ठका अनुसार टेम्पोमा कन्भर्सन किट हालेपछि टेम्पो पेट्रोल र ग्याँस दुवैबाट चल्ने हुन्छ । एक केजी ग्याँसले ३५, ३६ किलोमिटरसम्म टेम्पे चल्ने भएकोले धेरै सस्तो पर्ने उनले बताए । ‘पेट्रोल भन्दा सस्तो पनि पर्छ, र वातावरणलाई राम्रो पनि हुन्छ,’उनले भने ।