एजेन्सी: भारतको राजधानी दिल्लीमा लगातार हिंसात्मक घटना भइरहेको छ । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ।

सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो। त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ । मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन्।

सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन्। जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुङ्गा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका भन्ने विवरणहरू आएका छन् । मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन्। १८९ जनाजति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन्।

विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्‍याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ । गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै एएनआइ समाचार एजेन्सीले जनाएअनुसार अस्पतालमा उपचारकालागि ल्याइएकाहरू मध्ये केहीलाई गोली लागेको छ भने केहीको टाउकोमा चोट लागेको छ।केहीको शरिरमा चक्कुको घाउ छर केहीलाई हिंसाबाट भाग्ने क्रममा लडेर चोट लागेको हुनसक्ने बताइएको छ।

तीन दिनदेखि राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा जारी रहेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएरात जफ्रावाद ,सीलमपुर लगायत केही हिंसाग्रस्त इलाकाको भ्रमण गरेका र स्थानीय समुदायका नेताहरूसँग कुराकानी गरेका पनि एएनआइले जनाएको छ। त्यहाँको जानकारी उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिमण्डललाई गराउने बताइएको छ।

'कानुनहीनता'

उनले देशको राजधानीमा कानुनहीनताको अवस्था जारी रहन दिन नसकिने र प्रहरी तथा प्यारामिलिटरी सैन्य पर्याप्त संख्यामा परिचालन गरिएको बताएका एएनआइले ट्वीटर मार्फत जनाएको छ।

मंगलवार नै दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले हिंसात्मक घटनामा घाइतेहरू उपचाररत अस्पतालहरूको भ्रमण गरेका थिए। त्यसपछि उनले ट्वीटरमा लेखेको संदेशमा जारी हिंसालाई 'पागलपन' भन्दै यो तत्काल अन्त्य हुनुपर्ने बताएका छन्।

मंगलवार नै भारतका गृहमन्त्री अमित शाहले जारी हिंसाका सम्बन्धमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री र अन्य वरिष्ठ अधिकारीहरू र राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए। उनले दिल्ली प्रहरीलाई सम्बोधन गर्दै तिनीहरूले स्थानीय शान्ति समितिहरूसँग मिलेर जनतासँग सम्वाद प्रकृया सुरु गर्न र विश्वासको वातावरण बनाउन बताएका बीबीसी हिन्दीले उल्लेख गरेको छ।