दुई दशकभन्दा लामो प्रतीक्षापछि धरानले आधुनिक बसपार्क पाएको छ। धरान–८ तीनकुने सुन्दरबस्ती क्षेत्रमा निर्माण भएको स्मार्ट बसपार्क सञ्चालनमा आएपछि लामो दूरीका बसको व्यवस्थापनसँगै धरानको पुरानो यातायात समस्यामा सुधार आउने अपेक्षा गरिएको छ।
करिब २७ कट्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा ठूला बस, जिप तथा अन्य सवारीका लागि पार्किङ, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, सीसीटीभी, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट र व्यावसायिक सटर लगायतका संरचना छन्। तर एउटा आधुनिक भवन निर्माण हुँदैमा सार्वजनिक यातायात आधुनिक हुँदैन।
बसपार्क बनेपछि धरानको यातायात कहाँ छ ?
यही प्रश्न अहिले महत्वपूर्ण छ।
नयाँ बसपार्कलाई केवल लामो दूरीका बसको पार्किङ र प्रस्थान केन्द्रमा सीमित राख्ने हो भने यसको उपयोगिता एउटा संरचनामा सीमित हुनेछ। तर यसलाई सिटी सफारी, टेम्पो, निजी बस र सम्भावित नगर बस सेवासँग जोडेर एकीकृत सार्वजनिक यातायात केन्द्रका रूपमा विकास गर्न सके यसले धरानको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ।
त्यसैले अहिलेको बहस “बसपार्क बन्यो कि बनेनरु” बाट “बसपार्कले धरानका नागरिकलाई कसरी जोड्छरु” भन्ने दिशामा जानुपर्छ।
बसपार्क यात्रुको पहुँचमा हुनुपर्छ
धरानको सार्वजनिक यातायातको सबैभन्दा महत्वपूर्ण पक्ष यात्रु हुन्।
विद्यार्थी, शिक्षक, कर्मचारी, मजदुर, महिला, ज्येष्ठ नागरिक, बिरामी तथा दैनिक ज्यालादारीमा काम गर्ने नागरिकका लागि सार्वजनिक यातायात विलासिता होइन—दैनिक जीवनको आवश्यकता हो।
नयाँ बसपार्क शहरको मुख्य केन्द्रबाट केही दूरीमा रहेकाले यात्रुलाई बसपार्कसम्म पुग्ने स्थानीय यातायातको व्यवस्था प्रभावकारी हुन आवश्यक छ।
यात्राको लागत र समय दुवै बचत होस् भन्ने उदेश्यमा स्मार्ट बसपार्कको सफलताको पहिलो मापदण्ड हुनुपर्छ—“यात्रुलाई बसपार्कसम्म पुर्याउने र बसपार्कबाट गन्तव्यसम्म पुर्याउने सहज व्यवस्था।” यसका लागि बसपार्कलाई शहरका प्रमुख चोक, अस्पताल, शैक्षिक संस्था, बजार क्षेत्र र बाहिरी बस्तीहरूसँग जोड्ने फिडर यातायात नेटवर्क आवश्यक छ।
विद्यार्थीका लागि बसपार्क कति उपयोगी ?
धरान शिक्षा केन्द्र पनि हो। विद्यालय, कलेज तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्ने हजारौँ विद्यार्थीलाई दैनिक सार्वजनिक यातायात आवश्यक पर्छ।
विद्यार्थीका लागि यातायातको खर्च परिवारको नियमित खर्च हो। त्यसैले नगरपालिकाले यातायात व्यवसायीसँग समन्वय गरी विद्यार्थी सहुलियत भाडा र मासिक यातायात पासको सम्भाव्यता अध्ययन गर्नुपर्छ।
बिहान र बेलुका विद्यालय तथा कलेजको समयलाई ध्यानमा राखेर निश्चित रुटमा अतिरिक्त सेवा चलाउनु पर्छ।
यस्तो व्यवस्था विद्यार्थीका लागि मात्र होइन, सडकमा बढिरहेको निजी मोटरसाइकलको चाप कम गर्नसमेत उपयोगी हुन सक्छ।
शिक्षक, कर्मचारी र मजदुरका लागि ‘समय’ पनि सेवा हो
सार्वजनिक यातायातमा दैनिक निर्भर रहने अर्को ठूलो वर्ग शिक्षक, कर्मचारी र मजदुर हुन्।
उनीहरूका लागि यातायातको समस्या भनेको केवल भाडा महँगो हुनु होइन। समयमै गन्तव्यमा पुग्न नसक्नु अझ ठूलो समस्या हो।
त्यसैले सार्वजनिक यातायातमा समयतालिका अत्यन्त महत्वपूर्ण छ।
बिहान ६ देखि ९ बजे र साँझ ४ देखि ७ बजेसम्मका व्यस्त समयमा निश्चित अन्तरालमा सवारी चलाउने व्यवस्था गर्न सकिन्छ।
यात्रुले “बस कहिले आउँछरु” भनेर अनुमान गर्नुपर्ने होइन, “बिहान ७ः१५ बजे बस आउँछ” भन्ने विश्वास गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ।
नगरपालिकाले आफ्नै विद्युतीय बस चलाउन सक्छ ?
यो प्रश्न अब बहसमा ल्याउनुपर्ने समय आएको छ।
धरान उपमहानगरपालिकाले निजी यातायात व्यवसायीलाई विस्थापित गर्ने उद्देश्यले होइन, निजी क्षेत्रले पर्याप्त सेवा नदिएका रुट तथा समयमा सार्वजनिक सेवा सुनिश्चित गर्न सीमित संख्यामा आफ्नै विद्युतीय बस सञ्चालन गर्ने सम्भाव्यता अध्ययन गर्न सक्छ।
सुरुवातमै ठूलो लगानी आवश्यक छैन
पहिलो चरणमा ५–१० वटा विद्युतीय बसबाट परीक्षण सेवा सञ्चालन गर्न सकिन्छ। यात्रु संख्या, सञ्चालन खर्च, ऊर्जा खर्च, मर्मत खर्च र आम्दानीको मूल्यांकन गरेर सेवा विस्तार गर्न सकिन्छ।
नगरपालिकाले बस आफैं सञ्चालन गर्ने, सहकारी मोडलमा सञ्चालन गर्ने, निजी क्षेत्रसँग साझेदारी गर्ने वा व्यवस्थापन सम्झौतामार्फत सञ्चालन गर्ने विकल्पमध्ये उपयुक्त मोडल अध्ययन गर्न सक्छ।
तर यहाँ एउटा महत्वपूर्ण कुरा छ—
नगर बस नाफा कमाउने मात्र साधन हुनु हुँदैन।
जहाँ निजी व्यवसायीका लागि यात्रु कम भएर बस चलाउन कठिन हुन्छ, त्यहाँ सामाजिक आवश्यकताका आधारमा नगरपालिकाले सेवा दिनुपर्ने हुन सक्छ।
यसलाई सार्वजनिक सेवाको दायित्वका रूपमा हेर्न सकिन्छ।
उच्च यात्रु चाप भएका रुटमा नगर बस सञ्चालन गर्न सकिन्छ। त्यस्तै बाहिरी तथा टाढाका वडालाई जोड्ने छुट्टै रुट पनि विकास गर्न सकिन्छ।तर रुट अनुमानका आधारमा होइन, यात्रु मागको वैज्ञानिक अध्ययनका आधारमा निर्धारण हुनुपर्छ।
सफारी–टेम्पो विस्थापन होइन, फिडर सेवा
नयाँ बसपार्क सञ्चालनसँगै सिटी सफारी र टेम्पोको भूमिका पनि पुनःपरिभाषित गर्न आवश्यक छ।
सफारी तथा टेम्पोमा धेरै स्थानीय परिवारको लगानी र रोजगारी जोडिएको छ। चालकका लागि यो व्यवसाय परिवारको आम्दानीको स्रोत हो।
त्यसैले नयाँ बसपार्क सञ्चालनका नाममा उनीहरूलाई विस्थापित गर्नु समस्याको समाधान होइन।
बरु उनीहरूलाई नयाँ यातायात प्रणालीको साझेदार बनाउनु आवश्यक छ।
लामो दूरीका बसले यात्रुलाई धरानसम्म ल्याउने र सफारीरटेम्पोले यात्रुलाई शहरका विभिन्न गन्तव्यसम्म पुर्याउने प्रणाली बनाउन सकिन्छ।
यसलाई फिडर सेवाका रूपमा विकास गर्न सकिन्छ।
उदाहरणका लागि बसपार्कबाट—
- भानुचोक, -छाताचोक,-पुतलीलाइन ,-रेल्वे,-बीपी प्रतिष्ठान-बिजयपुर, -धरानका बाहिरी बस्तीतर्फ निश्चित रुटमा सफारी तथा टेम्पो सञ्चालन गर्न सकिन्छ। यसका लागि छुट्टाछुट्टै स्टप, पार्किङ र यात्रु चढाउने–ओर्लाउने स्थान तोकिनुपर्छ। यसले एकातर्फ ट्राफिक व्यवस्थापन गर्छ भने अर्कोतर्फ यातायात मजदुरको रोजगारीलाई सुरक्षित राख्छ।
समस्या सवारीको संख्या होइन
धरानमा सफारी वा टेम्पोको संख्या बढी हुनु मात्र समस्या होइन।
समस्या हो—
कहाँ रोकिने ?
कहाँ पार्क गर्ने ?
कुन रुटमा चल्ने ?
कति समयमा चल्ने ?
यात्रु कहाँ चढाउने ?
यी प्रश्नको स्पष्ट उत्तर नहुँदा सवारी व्यवस्थापन कठिन भएको हो।
नगरपालिकाले डिजिटल दर्ता, रुट परमिट, निश्चित स्टप र पार्किङ प्रणालीमार्फत सफारी तथा टेम्पोलाई व्यवस्थित गर्नुपर्छ।
टाढाका बस्तीका लागि नगर यातायात
धरानको सार्वजनिक यातायातको बहस मुख्य बजार वरिपरि मात्र सीमित हुनु हुँदैन।
उपमहानगरपालिकाका टाढाका तथा भौगोलिक रूपमा केही कठिन बस्तीका नागरिकका लागि सार्वजनिक यातायात अझ महत्वपूर्ण छ।
मुख्य बजार क्षेत्रमा सफारी, टेम्पो, बस र ट्याक्सीका धेरै विकल्प हुन सक्छन्। तर बाहिरी क्षेत्रमा नियमित सवारीको अभाव हुँदा नागरिकले निजी मोटरसाइकल वा महँगो भाडाको साधन प्रयोग गर्नुपर्ने अवस्था छ।
यसको सबैभन्दा ठूलो असर विद्यार्थी, महिला, ज्येष्ठ नागरिक, बिरामी र न्यून आय भएका परिवारमा पर्छ।
त्यसैले “धरान नगर यातायात सेवा”को अवधारणा अघि सार्नु आवश्यक छ।
यसको अर्थ नगरपालिकाले सबै निजी यातायात हटाएर आफैं मात्र बस चलाउने होइन।
बरु—जहाँ निजी क्षेत्रले पर्याप्त सेवा दिन सक्दैन, त्यहाँ नगरपालिकाले न्यूनतम सार्वजनिक यातायात सुनिश्चित गर्ने।यो अवधारणा धरानका लागि व्यावहारिक विकल्प हुन सक्छ।
नगर यातायातको सम्भावित संरचना
एकीकृत रूपमा तीन तहको यातायात प्रणाली विकास गर्न सकिन्छ।
१) लामो दूरीको यातायात
स्मार्ट बसपार्कबाट पूर्वी पहाड, तराई तथा अन्य शहरतर्फ जाने ठूला बस।
२) मुख्य शहरी रुट
नगरपालिकाको सम्भावित विद्युतीय बस तथा निजी सिटी बसले मुख्य सडक र उच्च यात्रु चाप भएका रुट समेट्ने।
३) फिडर सेवा
सिटी सफारी र टेम्पोले मुख्य रुटबाट भित्री बस्ती, गल्ली तथा छोटो दूरीका क्षेत्र जोड्ने।
यसलाई सरल रूपमा यसरी बुझ्न सकिन्छ—
ठूला बस → मुख्य यातायात केन्द्र
नगररसिटी बस → मुख्य शहरी रुट
सफारीरटेम्पो → बस्ती र अन्तिम गन्तव्य
यही विभाजनले सबैलाई एउटै यात्रुका लागि प्रतिस्पर्धा गराउने अवस्थाबाट बचाउन सक्छ।
महिला र बिरामीका लागि सुरक्षित यातायात
सार्वजनिक यातायातको गुणस्तरको एउटा महत्वपूर्ण मापदण्ड सुरक्षा पनि हो।
बसपार्कमा पर्याप्त प्रकाश, सुरक्षित प्रतीक्षालय, महिला–मैत्री शौचालय, प्राथमिक उपचार तथा सहायता कक्ष आवश्यक छन्।
तर सुरक्षा बसपार्कभित्र मात्र होइन, बसपार्कदेखि गन्तव्यसम्मको सम्पूर्ण यात्रामा हुनुपर्छ।
विशेषगरी बिहान सबेरै र साँझ अबेरसम्म यात्रा गर्ने महिला, विद्यार्थी तथा कर्मचारीका लागि सुरक्षित सार्वजनिक यातायात आवश्यक छ।
त्यस्तै बीपी प्रतिष्ठानलगायत स्वास्थ्य संस्थामा जाने बिरामीका लागि बसपार्कबाट सहज स्थानीय सेवा हुनुपर्छ।
यातायात मजदुरको हितलाई पनि योजनाको हिस्सा बनाऔँ
यात्रुको सुविधा सुधार गर्दा यातायात मजदुरको हित बिर्सन मिल्दैन।
बस चालक, सहचालक, सफारी चालक र टेम्पो चालकको श्रमबाटै यातायात प्रणाली चलिरहेको छ।
त्यसैले उनीहरूका लागि—
- विश्रामस्थल,
- खानेपानी,
- शौचालय,
- दुर्घटना बीमा,
- सामाजिक सुरक्षा कार्यक्रममा पहुँच,
- सुरक्षित कार्य वातावरण जस्ता विषयमा पनि नगरपालिकाले सरोकारवालासँग समन्वय गर्नुपर्छ।यात्रुलाई सम्मानजनक सेवा चाहिन्छ भने चालक तथा मजदुरलाई पनि सम्मानजनक कार्य वातावरण आवश्यक हुन्छ।
‘स्मार्ट’ बसपार्कको अर्थ डिजिटल बोर्ड मात्र होइन
स्मार्ट बसपार्कमा सीसीटीभी र डिजिटल डिस्प्ले हुनु राम्रो हो।
तर वास्तविक स्मार्टनेस यात्रुले अनुभव गर्नुपर्छ।
यात्रुले मोबाइलबाट बसको समय हेर्न सक्ने, रुट र भाडा थाहा पाउने, गुनासो गर्न सक्ने र सम्भव भएसम्म डिजिटल टिकट काट्न सक्ने अवस्था विकास गर्न सकिन्छ।
भविष्यमा एउटै यातायात कार्डबाट नगर बस, सिटी बस तथा फिडर सेवामा यात्रा गर्न सकिने प्रणालीसमेत विकास गर्न सकिन्छ।
आम्दानीभन्दा सार्वजनिक प्रतिफल
बसपार्क सञ्चालनबाट नगरपालिकालाई आम्दानी हुनु सकारात्मक पक्ष हो। तर सार्वजनिक पूर्वाधारको मूल उद्देश्य केवल राजस्व संकलन हुनु हुँदैन।
बसपार्कबाट उठेको आम्दानीको केही हिस्सा—
मर्मतसम्भार, सरसफाइ, सुरक्षा र सार्वजनिक यातायात सुधारमा पुनःलगानी गर्नपर्छ।
नगरपालिकाले बसपार्कको आम्दानी–खर्च तथा सञ्चालनको अवस्था प्रत्येक वर्ष सार्वजनिक गरेमा पारदर्शिता र नागरिक विश्वास दुवै बढ्छ।
अब धरानले के गर्ने ?
धरानले अब बसपार्क सञ्चालनलाई एउटा छुट्टै आयोजना मानेर होइन, समग्र सार्वजनिक यातायात सुधार कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने देखिन्छ।
त्यसका लागि तत्काल निम्न काम गर्न सकिन्छ।
पहिलो— सम्पूर्ण धरानको यातायात माग र यात्रु प्रवाहको सर्वेक्षण।
दोस्रो— स्मार्ट बसपार्क केन्द्रित नयाँ रुट तथा स्टप निर्धारण।
तेस्रो— सफारी तथा टेम्पोलाई फिडर सेवामा समेट्ने औपचारिक योजना।
चौथो— टाढाका बस्तीका लागि नगर यातायात सेवाको सम्भाव्यता अध्ययन।
पाँचौँ— सीमित संख्यामा विद्युतीय बस सञ्चालनको आर्थिक तथा प्राविधिक परीक्षण।
छैटौँ— विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित समूहका लागि सहुलियत यातायातको अध्ययन।
सातौँ— डिजिटल टिकट, न्एक्, रुट तथा समयतालिका प्रणाली विकास।
आठौँ— यातायात मजदुरको प्रतिनिधित्वसहित बसपार्क व्यवस्थापन समन्वय समिति गठन।
नवौँ— बसपार्क र भानुचोकको भूमिका स्पष्ट गर्ने ट्राफिक योजना।
दशौँ— पाँच वर्षे र बीस वर्षे धरान सार्वजनिक यातायात गुरुयोजना निर्माण।
अन्तिम प्रश्न: गहना कि मेरुदण्ड ?
धरानले धेरै वर्षको प्रतीक्षापछि स्मार्ट बसपार्क बनाएको छ। यो सार्वजनिक पूर्वाधार हो र यसको संरक्षण तथा सफल सञ्चालन सबैको साझा जिम्मेवारी हो।
तर यसको सफलता उद्घाटनको दिनबाट होइन, दैनिक यात्रुको अनुभवबाट मापन हुनेछ।
यदि विद्यार्थी समयमै विद्यालय पुग्छ,
शिक्षक समयमै कक्षामा पुग्छन्,
कर्मचारी र मजदुर भरपर्दो यातायात पाउँछन्,
महिला सुरक्षित यात्रा गर्छन्,
बिरामी सहज रूपमा अस्पताल पुग्छन्,
ज्येष्ठ नागरिकले सम्मानपूर्वक यात्रा गर्छन् र
टाढाका बस्तीका नागरिक पनि धरानको मुख्य सेवासँग जोडिन्छन् भने स्मार्ट बसपार्कले आफ्नो उद्देश्य पूरा गर्न थालेको मान्न सकिन्छ।
त्यसैगरी सिटी सफारी र टेम्पो चालकलाई विस्थापित नगरी व्यवस्थित फिडर सेवामा जोड्न सकियो भने यातायात व्यवस्थापनसँगै स्थानीय रोजगारी पनि सुरक्षित हुन्छ।
उपमहानगरपालिकाले सीमित संख्यामा विद्युतीय बस सञ्चालन गरेर आवश्यक रुटमा सेवा दिन सक्यो भने निजी क्षेत्रसँग सहकार्य गर्दै एउटा नयाँ नगर यातायात मोडलको सुरुवात हुन सक्छ।
यसका लागि ठूलो नारा होइन, यात्रु मागको अध्ययन, स्पष्ट रुट, पारदर्शी व्यवस्थापन, निजी क्षेत्रसँग सहकार्य र चरणबद्ध लगानी आवश्यक छ।
धरानले अब बसपार्कलाई एउटा भवनका रूपमा मात्र हेर्नु हुँदैन।
यसलाई—
स्मार्ट बसपार्क,
स्मार्ट ट्राफिक,
स्मार्ट नगर यातायात,
सफारी–टेम्पोको व्यवस्थित फिडर सेवा
र सबै बस्तीमा पहुँच भएको सार्वजनिक यातायातको साझा आधार बनाउनुपर्छ।
किनकि शहरको विकासको वास्तविक मापन ठूला भवनले होइन, सामान्य नागरिकले आफ्नो दैनिक गन्तव्यसम्म कति सहज रूपमा पुग्न सक्छ भन्ने कुराले गर्छ।
त्यसैले धरानको स्मार्ट बसपार्क—
शहरको गहना मात्रै होइन, धरानको सार्वजनिक यातायातको मेरुदण्ड बनोस् ।






