धरान: पुर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष तीन जना पत्रकारलाई प्रदान गर्ने भएको छ ।

सेछले तीन बर्षयताको पत्रकारिता पुरस्कार एकै पटक यो बर्ष प्रदान गर्न लागेको हो । सेछले २०७४ सालको पुरस्कार सुनसरी धरानका दिनेश गजमेरलाई, २०७५ सालको पुरस्कार पाँचथरका गिरिराज बाँस्कोटालाई र २०७६ सालको पुरस्कार सुनसरी इटहरीका विराट अनुपमलाई प्रदान गर्न लागेको जानकारी दिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा शनिवार साँझ धरानमा सो पुरस्कार प्रदान गरिन लागिएको हो । पुरस्कारको राशी जनही १० हजार रुपैयाँ छ ।

२०७४ सालदेखि वितरण गर्न रोकिएको पुरस्कार एकै पटक पर्यटन विषयमा कलम चलाउने तीन जना पत्रकारलाई प्रदान गर्न लागिएको हो । पत्रकार गजमेर हाल कोशीपत्र दैनिक र जनता टेलिभिजनमा आबद्ध छन् भने बाँस्कोटा पाँचथरबाट नागरिक दैनिकका स्थानीय संवाददाता हुन् । राससको अंग्रेजी भाषामा समाचार लेख्ने विराट स्वतन्त्र रहेर कलम चलाउने गर्दछन् । टुर न्यूज मासिक पत्रिकामा हिमाल र पूर्वको पर्यटनबारे उनको सशक्त लेख आउने गर्दछ ।

सेछले २०७१ सालदेखि पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पर्यटनमा कलम चलाउने पत्रकारहरुलाई वर्षेनी सम्मान गर्दै आएको छ । यसअघि २०७१ सालमा रोहित राई, २०७२ सालमा गोपाल दाहाल र २०७३ सालमा भैरव आङ्लालाई सो पुरस्कार प्रदान गरिएको थियो । २०६८ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलिङले पूर्व क्षेत्रको पर्यटनलाई व्यवसायिकरण गर्ने प्रयास गरिरहेको छ ।

पर्यटन विषयमा स्नातकोत्तर गरेर व्यवसाय शुरु गरेकी एलिना मगर यसकी सञ्चालक हुन् । मगर नेपाल भ्रमण वर्ष २०२० की प्रदेश नं. १ की सचिवालय सदस्य र सुनसरी उद्योग वाणिज्य संघकी कार्यकारी सदस्य पनि हुन् । सेछले धरानलाई केन्द्र बनाइ पूवको पर्यटनको देश विदेशमा प्रचार र प्रवर्धन गर्दै आएको छ । भारतको कोलकाता, सिलिगुढी, सिक्किम, दार्जिलिङ, जयगाउँ, पटना, पूर्णिया, कटिहारलगायतका सहरमा सेछले प्रवर्धन गरिरहेका छ । भुटानको थिम्पु, पारो र पुनाखासम्म यहाँको प्रचारमा सेछले प्रयास गरेको छ ।