धरानको विष्णुपादुका गाउँ भगवान् विष्णुको कथासँग जोडिएर चर्चित छ। त्यहाँको साङ्गोपाङ्गो विष्णुपादुका मन्दिरमै गएर टुंगिन्छ जस्तो लाग्छ। तर, विष्णुपादुका गाउँमा अरु धेरै मठ मन्दिर र थान भेटिन्छन्। किम्वदन्तीमा सुनिने भताभुङ्गे राजाको सुलीकोट, कोकाहा खोलाको शिर गौधारा, सूर्यकुण्ड, भालुढुङ्गा मात्र होइन, स्थानीयले पनि त्यति धेरै थाहा नपाएका शंकरधुनी, सिद्धपोखरी पनि भेटिन्छन् गाउँमा। शिवरात्रीका अवसरमा शंकरधुनीमा सामूहिक पूजा गर्ने चलन चलाएका छन् गाउँलेले। हामी पनि त्यो रौनक हेर्न गयौं।

धरानबाट करिब ८ किमि कच्ची बाटो पश्चिम उत्तर। विकासको मुख्य आधार बाटो नै रहेछ। त्यो लम्किदै छ विष्णुपादुकामा। त्यता लागेका हामी ८ जनाले बाटोमा प्याराग्लाइडिङ उडाउँदै गरेको हेरेर मज्जा लियौं। यहाँ चिण्डेडाँडा भन्ने स्थानबाट प्याराग्लाइडिङको व्यवसायिक उडान गराइन्छ।

शंकरधुनी कोकाहाको शिरभन्दा पनि माथि छ। उहिल्यैं भगवान शंकरले धुनी जगाएर विश्राम लिएको, कोकाहा गंगा उत्पत्ति गराएको र पोखरीको उत्पत्ति गराएको बताउँछन् स्थानीय। विष्णुपादुकाको पूर्वतर्फ तामाङ जातीको बाहुल्य छ। तामाङ बुद्ध धर्म मान्छन्, लामा चलाउँछन्। तर शंकरधुनी हिन्दू आराध्यदेव शिवसँग सम्बन्धित छ। यहाँ धार्मिक सहिष्णुताको अनुपम उदाहरण देख्न पाइन्छ।

sankardhuni2

चारैतिर ढुङ्गाका पर्खालको बीचमा एउटा ठूलो शिला छ। त्यही पुजिन्छ शंकरजीलाई। लामा र धामीसंगै मिलेर पूजा गर्दा रहेछन्। त्यो पनि शिवरात्रीमा। धामी पनि तामाङ जातिकै रहेछन्। उनी हिन्दू संस्कार अनुसार पूजा गर्छन्, धामी बक्छन्। लामाहरु बौद्ध मन्त्रले पूजा गर्छन्। शिवरात्री उसै पनि भाङ धतुरो चढाउने दिन। तर, यहा“ मास र माद (मादकपदार्थ) निषिद्ध रहेको पुजारी याङ् दोर्जे तामाङले बताए। गाउँले ठूलो संख्यामा भेला भएका थिए। उनीहरूले सेलरोटी पुरी सब्जी पकाएर सबैलाई खुवाए। फलफूल र धुप दिपले आराधना गरे।

चारैतिर ढुङ्गाका पर्खालको बीचमा एउटा ठूलो शिला छ। त्यही पुजिन्छ शंकरजीलाई। लामाले भने पर्खालबाहिर गुरु रिन्पोच्छेको फोटो राखेर पूजा गरेका थिए। पहिलापहिला साधु यहाँ आएर धुनी जगाएर बस्थे भन्छन् मणिराम राई। राई सो वडाका वडाध्यक्ष। धरानमा समायोजन हुनु पूर्व विष्णुपादुका गाउँ विकास समिति थियो। अहिले धरान २० राई गाविसका अध्यक्ष पनि भएका थिए। सम्भवतः यो ठाउँ साधुमहन्तको आश्रम थियो होला ! अखडा थियो होला ! उत्तरमा अग्लो डाँडा, डाँडामा गुराँसे जंगल, छेउमा पोखरी र शान्त मनोरमस्थल। ध्यान साधना गर्न उपयुक्त ठाउँ।

छेउको पोखरी पानीविहीन छ। सिद्ध पोखरी भन्छन् त्यसलाई। गहिरो पोखरीको स्वरुप हेर्दा त्यसको गहिरोपन आंकलन गर्न सकिन्छ। पहाडको ठ्याक्कै काँछमा रहेको पोखरीको दक्षिणतर्फ बाँध बाँधे जस्तो देखिन्छ। प्राकृतिक बाँध छ। अलि तल खोंच छ त्यहाँ पनि बाँध बाँध्ने हो भने दुइटा ठूलै पोखरी बन्ने भौगोलिकस्वरुप देखिन्छ। त्रिकोणात्मक पोखरी करिब १० मिटर गहिरो छ। पोखरीको दक्षिणतर्फ २ सय मिटर र चौडाइ १ सय मिटर भएको अनुमान गर्यौ हामीले। यहाँको पानीको मूल सुके पनि अलि तल पानी निस्कने राईले बताए। त्यही पानी नै कोकाहाको मूल भएको पनि उनको भनाइ थियो। कोकाहा नदी पितृ श्राद्धको पिण्ड सेलाउने पवित्र र मोक्षदायिनी नदीका रुपमा स्कन्धपुराणमा वर्णित छन्। यिनै कोकाहा बराहक्षेत्र नजिकै सप्तकोशीमा समावेश हुन्छिन्।

sankar-dhuni0

कोकाहा नदी छेउमा विष्णुको मन्दिर छ। मन्दिरमा विष्णु भगवान्को पाउको निसानी छ। पितृश्राद्धका लागि यो ठाउँ पुराणमा वर्णित छ। पौषे औशीमा यहाँ श्राद्ध गर्नेको मेला लाग्दछ। पोखरीको पुनर्निमाण र संरक्षण गर्न सके गाउँको मुहार फेर्न सकिने वडाध्यक्ष राईले बताए। पोखरी किन सुक्यो र कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्ने अध्ययन गरिने पनि राईले बताए। धरानबाट यति नजिक भएकाले पनि यसको विकासले गाउँमा पर्यटकको चासो र चहलपहल बढ्ने उनको अनुमान थियो।

धरानको जिरो पोइण्टबाट त्यहाँ जाँदा शुलीकोट हुँदै जानुपर्दछ। शुलीकोट उहिल्यै अपराधीलाई दण्ड दिने स्थान थियो भन्ने किम्वदन्ती छ। ढुंगाको चुच्चो खम्बामा अपराधीलाई बसाएर यातना दिँदै मार्ने चलन रहेको बुढापाका बताउँछन्। ढुंगामा चढाउँदा अपराधीको रगत जम्मा हुन खाडललाई ढुंगाले घेरेर राखिएको देख्न पाइन्छ। चुच्चो ढुंगो भने अहिले छैन। शुलीकोट डाँडामा छ।

त्यहाँबाट सगरमाथा र मकालु हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ। सुलीकोटको त्यो ऐतिहासिक ठाउँ भने धरानका मनोज श्रेष्ठको नम्बरी जग्गामा पर्दो रहेछ। उनले विकास गर्ने हो भने जग्गा समुदायमा हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। बाटो सुधार र सर्दूखोलामा पुल बन्ने हो भने शंकरधुनी धरानको अर्को आकर्षक गन्तव्य बन्नेछ।

(लेखक धरानका पर्यटनकर्मी हुन् । उनको यो लेख /फिचर आजको नागरिक शनिबार घुमफिरबाट साभार गरिएको हो । )